arin enterprises

निर्वाचन आयोगले चुनाव लक्षित दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

निर्वाचन आयोगले भोली आइतबारबाट दैनिक प्रेस ब्रिफिङ गर्ने भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथस्थित  आयोग परिसरको  मिडिया सेन्टरबाट प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने मिति घोषणा भएसँग आयोगले यस्तो तयारी थालेको हो ।
आयोगका प्रवक्ता शालीग्राम शर्माले निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिक रूपमा सञ्चारमाध्यममार्फत् सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता–सञ्चारकर्मी भेटघाट राखिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
दैनिक रूपमा हुने  प्रेस मिटले निर्वाचन सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्ने बताइएको छ ।

Categorized in राष्ट्रिय