उम्मेदवार छनौटकाे हस्ताक्षर सम्वन्धमा जसपामा विवाद
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण १६, सोमबार

जनता समाजवादी पार्टी (जसपा) नेपालमा पूर्व संघीय समाजवादी समूह र पूर्व नयाँ शक्ति पार्टी बीचको तिक्तता झन झन बढ्दै गएको पाइएको छ । पार्टीभित्र हरेक प्रस्ताव व निर्णयमा यी दुई समूहबीच निरन्तर रुपमा विवाद हुँदै आएको छ ।
यसै सन्दर्भ हालै काठमाडौंमा सम्पन्न जसपा कार्यकारिणी समितिको वैठकमा पनि यस्तै परिवेश देखिएको छ ।
वैठकमा आसन्न स्थानीय निर्वाचनको लागि उम्मेदवार छनौटमा कसको हस्ताक्षर राख्ने भन्ने विषयमा पनि दुई समूहबीच मत बाझिएको छ ।
काठमाडौंमा भएको जसपा कार्यकारिणी समितिको वैठकमा उम्मेदवार छनौटमा कसको हस्ताक्षर राख्ने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा अन्य महत्वपूर्ण विषयमा समेत छलफल हुन नसकेको बताइएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यावदले उम्मेदवार छनौट भन्ने विषय प्रकृयागत विषय भएकोले स्वतः अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताएपछि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले भने संघीय परिषद अध्यक्षको समेत हस्ताक्षर हुनुपर्ने माग राखेपछि विवाद चर्किएको थियो ।
विवाद लम्बिँदै गएपछि पार्टी नेता साथै वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले वरिष्ठ नेता अशोक राईको हस्ताक्षर राख्ने प्रस्ताव गरेका थिए ।
कुन अध्यक्षको वा क कसकाे हस्ताक्षर राख्ने भनेर अलमलिनु साटो वरिष्ठ नेताको हस्ताक्षर राख्ने प्रस्ताव नेता श्रेष्ठले गरेका थिए ।
श्रेष्ठको यो प्रस्तावलाई पनि डा. भट्टराईले अस्वीकार गरेका छन् । नेता श्रेष्ठको प्रस्तावमा पनि डा. भट्टराईले बरु तीनै जनाको हस्ताक्षर रहने सक्ने प्रस्ताव अघि सारेका थिए ।
डा. भट्टराईले भने कुनै पनि अवस्थामा आफ्नो हस्ताक्षर हुनैपर्ने मानसिकता बनाएको देखिएको वैठकमा सहभागी एक नेताले बताएका छन् ।
वैठकमा यो विषयमा कुनै पनि प्रस्ताव उपर निर्णय भने भइसकेको छैन ।
Categorized in राजनीति