arin enterprises

चौथो नेपालभाषा साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ चैत्र १४, सोमबार

नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठको साथै युवा साहित्यकारहरुबाट साहित्य पाठ, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन आदिलगायतका विभिन्न प्रस्तुतिसँगै नखः सम्पन्न भएको हो । शनिबार कीर्तिपुरको पाङ्गामा मेयरहरुको सम्मान गर्दै नखःको समापन गरियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का रिजालको साथमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलाई सम्मान गरिएको थियो । आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयहरुको नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेको भन्दै नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको हो ।

‘जनताको नोकर नै भगवान बन्छ’

कार्यक्रममा बोल्दै जनकवि दुर्गालाल श्रेष्ठले जनप्रतिनिधिले आफुलाई जनताको सेवक सम्झिँदै काम गरेमा जनताको बीचमा नायक बन्ने सुझाव राख्नुभयो । उहाँले भन्नुभयो, ‘सु जनताया च्यः जुइ, व हे सकसिगु मिखाय् द्यः जुइ (जो जनताको नोकर बन्छ, त्यो नै सबैको आँखामा भगवान बन्छ) ।’

त्यस्तै अधिकारकर्मी मल्ल के. सुन्दरले भाषिक पहिचानलाई दबाएर देश अगाडी बढ्न नसक्ने विचार राख्नुभयो ।

काठमाडौं महानगर प्रमुख शाक्यले स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू भइसकेपनि यसलाई दीगो बनाउन अझै प्रयास निरन्तर रहनुपर्ने बताउनुभयो ।

कीर्तिपुर नगरपालिका प्रमुख महर्जन र उपप्रमुख रिजालले साहित्य नखः कीर्तिपुरमा आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्थानीय भाषा, कला, साहित्य, संस्कृति, सम्पदाको संरक्षण र सम्वद्र्धनमा हरदम लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले केही समय अघि मात्र समय फल्चाको पुनर्निर्माण सम्पन्न गरेको स्मरण गर्दै पैसाले सम्पदा नास्न खोज्नेहरु सफल नहुने बताउनुभयो ।

नखःको क्रममा नेपालभाषा क्षेत्रका चर्चित वरिष्ठ साथै युवा साहित्यकारहरुबाट साहित्य पाठ, अन्तरक्रिया, नाटक, प्रहसन, सांगितिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

पाँच पुस्तक विमोचन गर्दै नखःको उद्घाटन

नखःको उद्घाटन भने शुक्रबार कीर्तिपुरको न्यामासिमास्थित नेपालभाषा एकेडेमिको सभा हलमा गरिएको थियो ।

उद्घाटन कार्यक्रममा विभिन्न पाँच वटा पुस्तकको विमोचन गरिएको थियो ।

पूर्णराम मूनकर्मीको निबन्ध पुस्तक ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संग्रह ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु पुस्तक ‘लखय् लूगु किचः’, स्नेह सायमिको लघु कथा संग्रह ‘स्नेह सायमिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’ को विमोचन गरिएको थियो ।

उद्घाटन पछि नखःका कार्यक्रमहरु कीर्तिपुरको लायकूमा आयोजना गरिएको थियो । नखःको पहिलो दिन पनि साहित्य पाठको साथमा प्रहसन, अन्तरक्रिया गरिएको थियो ।

यो पनि पढ्नुहोला : ऋतु परिवर्तनको सूचक नेवाः ऋतु संगीत

Categorized in पेजथ्री