arin enterprises

पाहाँ चह्रे हर्षाेलासपूर्वक मनाईंदै

SamacharDesk – Ram Dangol | २०७८ चैत्र १७, बिहिबार

नेवार समुदायहरुले पाहाँ चह्रे पर्व आज हर्षाेलासपूर्वक मनाइरहेको छ । 

नेवार समुदायले परापूर्वकालदेखि नै कृष्ण चतुर्दशीको दिन मनाउँदै आएको पाहाँ चह्रे पर्वलाई पिसाच चतुर्दशीइ पनि भन्ने गरिन्छ । नेवार समुदायमा दशैं तिहार पछि ठूलो चाडको रुपमा यो चाडलाई मनाउने गरिन्छ । 

प्राकृतिक विपत्ति र रोगको महामारी शुरू भएको संकेत स्वरूप चैत्र चतुर्दशीका दिन काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ। नेपालभाषामा पाहाँको अर्थ पाहुना र चह्रे चतुर्दशी हो । लुकुमाद्यः (लुकेको महादेव) पूजागरी मनाइने पाहाचह्रे अघि घरको छाना बाँध्ने, फोहोर फ्याँक्ने, खाल्टाखुल्टी साःगाः सफाइ गर्ने र टोल–टोलमा स्थापित आजु-अजिमाद्यः (पुर्खा देवता)लाई समयद्यो (समयबजी चिउरा, छोयला, माछा आदिको थुप्रो) प्रदर्शन गरी पूजा गर्ने गरिन्छ ।

तीन दिनसम्म मनाउने यो चाडको पहिलो दिन आज चोकचोकमा रहेको लुकुमा द्यः अर्थात लुकेको महादेवको पूजाआजा गरि यो चाड मनाइन्छ । यस दिन विहान सबैरै नुहाइधुहाई गरी विभिन्न शक्तिपीठहरुमा पूजाआजा गरिन्छ र साँझपख चोकचोकमा रहेका लुकुमाद्यःलाई लुँस्वाँ, व स्वाँ (तोरीको फुल, मुलाको फुल) आदि राखी पूजा गर्ने गरिन्छ । त्यस्तै समयबजी, रक्सी आदि चढाइन्छ र परिवारहरुसँगै बसेर भोज खाने गर्दछ । 

पाहाँचह्रेको दोस्रो दिन टोलटोलमा स–साना बच्चाहरुलाई मरःजा खुवाइन्छ । मरःजा एक प्रकारको पवित्र भात हो । मरःजा काठमाडौंको कोहिटी, भिमसेनस्थान, लगन, ह्यूमत आदि स्थानमा खुवाइन्छ । मरःजा बच्चाहरुलाई ख्वाउँदा रोगव्याधी नलाग्ने, तन्दरुस्त हुने, रुन्चे नलाग्ने विश्वास गरिन्छ । 

पाहाँचह्रेको तेस्रो दिन विभिन्न शक्तिपीठहका देवीदेवताहरुलाई खटमा राखेर नगर परिक्रमा गरी जात्रा गरिन्छ । नगरपरिक्रमा गर्दा आप्mना छोरीचेलीहरुको घरघरमा गई पूजा लिन जाने चलन रहेको छ । 

यसै दिन असनमा खट जुधाउने गरिन्छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि द्य ल्वाकेगु जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर भद्रकाली (लुँमरी अजिमा) कंकेश्वरी (चामुण्डार कंग अजिमा) र  टेबहालकी लुभडी अजिमालाई देव खलकले बोकेर आएको तीप्वा मत (चिराग) साटासाट गरेर  खट जुधाएको प्रतिकको रुपमा जात्रा गरी मनाइन्छ । 

Categorized in संस्कृति