arin enterprises

यसरी बने राई जसपाको संघीय परिषद् अध्यक्ष

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ आषाढ ३१, शुक्रबार

बीरगंजमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति वैठकसँगै पार्टीमा विद्यमान विवादले नयाँ मोड लिएको छ ।

पार्टीभित्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवादले पार्टी कता जाने हो भन्ने अन्योल रहेको स्थितीमा बीरगंज वैठकको निर्णयले पार्टीलाई नयाँ मोडमा लगेको हो ।

दुई पक्षबीच अलग अलग वैठक र गतिविधिहरु हुन थालेपिछ बीरगंजमा भएको केन्द्रीय समिति वैठकले तत्कालीन संघीय परिषद अध्यक्ष भट्टराईलाई कारवाही गर्दै सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । यसैगरी वरिष्ठ नेता अशोक कुमार राईलाई संघीय परिषद् अध्यक्ष चयन गरेको छ ।

यो नयाँ निर्णयका बीच पार्टीभित्र बौद्धिक नेतासमेत भनिएका संघीय मामिला मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले वैचारिक आर्किटेक्टको रूपमा मात्र होइन संगठनात्मक दृष्टीले कूशल व्यवस्थापकको रूपमा पनि चर्चा पाएका छन् ।

पार्टी टुक्रिने अवस्थामा पुग्दा आवश्यक समन्वय गर्दै पार्टी एक ढिक्का बनाउन र वरिष्ठ नेता राईलाई संघीय परिषद अध्यक्ष बनाउनमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको पार्टी श्रोतले दावी गरेको छ ।

वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्षको रूपमा रहेका डा भट्टराईको भूमिकाले तर्सिएका अधिकांश केन्द्रीय सदस्यहरूले संघीय परिषद पार्टीभित्रको अर्को शक्ति केन्द्र बनाउने षडयन्त्र भएकोले त्यसलाई खारेज गर्नुपर्ने कुरा उठाएका थिए ।

त्यस समय श्रेष्ठले मञ्चमा उभिएर उक्त परिषद खारेज गर्न नहुने विचार राखेका थिए । वरिष्ठ नेता श्रेष्ठको विचार सुनेलगत्तै पार्टी अध्यक्ष उपेन्द्र यादवले अशोक राईलाई संघीय परिषद अध्यक्षको रुपमा प्रस्ताव गरेका थिए ।

संघीय परिषद् नै खारेज गर्न प्रस्ताव राखेको हलले श्रेष्ठको विचार सुनिसकेपछि भने पार्टी अध्यक्ष यावदको प्रस्तावलाई समर्थन गर्दै राईलाई संघीय परिषद अध्यक्ष चयन गरेको हो ।

यस अघि पनि दुई पक्षबीचको विवाद र आरोप प्रत्यारोप विभिन्न माध्यमबाट सहतमा आउँदै गरेको थियो ।

एक समयमा डा. भट्टराईले अशोक राईलाई उपयोग गरी पार्टी कब्जा गर्ने योजना बनाएको समाचारसमेत विभिन्न संचारमाध्यमबाट प्रकाशित भएको थियो ।

उक्त समयमा पनि श्रेष्ठले नै विशेष भूमिका खेल्दै भट्टराईको षडयन्त्रलाई असफल बनाएको श्रोतको दावी छ ।

‘बाबुराम भट्टराईको योजना विभिन्न बहानामा पार्टी आफ्नो हातमा पार्नु थियो । त्यसलाई असफल पार्न श्रेष्ठले अध्यक्ष उपेन्द्र यादव र अशोक राईबिचको दूरी मेटाउन भूमिका मात्र खेलेन, अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन पर्दा पछाडिबाट भूमिका पनि खेले’ श्रोतले बताएको छ ।

बीरगंज वैठकले पार्टी अनुशासन उल्लंघन गरेको, पार्टी एकता तोड्न खोजेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्ति दिँदै हिँडेको भन्दै तत्कालीन संघीय परिषद अध्यक्ष भट्टराईलगायत नौ जना नेताहरूलाई पदीय जिम्मेवारीबाट हटाएको हो ।

बीरगंजमा सम्पन्न जसपाको केन्द्रीय वैठकमा निर्वाचनको समिक्षा, संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी, केन्द्रीय समितिमा तेत्तीस प्रतिशत महिला समावेश गर्नेलगायत दशवटा कार्यसूचीमा छलफल भएको थियो ।

Categorized in राजनीति
SKIP THIS tihar2082