arin enterprises

आज वराह जयन्ती मनाईँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ श्रावण १५, आइतबार

आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी वराह जयन्ती मनाईँदैछ ।

विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट लोकको उद्धार गरेका थिए ।

आजकै दिनलाई भगवान बिष्णुको जन्म जयन्तीको रुपमा पनि लिने गरिएको छ । वराह अर्थात बँदेल । विष्णुपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरुले वराहलाई विष्णुको बँदेल रुपमा बयान गरेको पाइन्छ ।

प्रचलित पुराण अनुसार

सत्ययुगमा ऋषि कश्यपका पुत्र हिरण्याक्षले ब्रह्माबाट युद्धमा सदा विजयी भइरहने वरदान पाएका थिए । यहि बरदानको अहममा उनले पृथ्वीबासीहरुलाई अन्याय अत्याचार गर्न थाले ।

उसको अत्याचार दिन प्रतिदिन बढ्दै गइरहेको थियो । हुँदाहुँदा एक दिन त हिरण्याक्षले पृथ्वीलाई पानीभित्र पाताल लोकमा लगेर लुकाइदिए ।

पृथ्वी नै पातालमा लगेर लुकाइ दिएपछि सबै देवता चिन्तित भए । त्यसपछि पृथ्वीको उद्धार गर्नका लागि आजकै दिनमा ब्रह्माको नाकबाट भगवान विष्णुको तेस्रो अवतारमा रुपमा वराह प्रकट भए ।

वराह अवतारले पानीभित्र लुकाएर राखिएको पृथ्वीलाई आफ्नो दन्तमा अड्काएर पाताल लोकबाट बाहिर निकाले । तत्काल हिरण्याक्ष त्यहाँ पुगेर वराहलाई युद्धका लागि लल्कारे र दुई बीच घमासान युद्ध भयो ।

वराहले हिरण्याक्षको अस्त्र शस्त्र र माया सबै नष्ट गरिदिए र उसको बध गरिदिए । बराहले हिरण्याक्षको बध कसरी गरे भने विभिन्न पुराणमा विभिन्न तरीकाको उल्लेख गरेको छ ।

कुनै पुराणमा सुदर्शन चक्रले हिरण्याक्षको घाँटी काटेको भनिएको छ भने कुनैमा वराहले आफ्नो तिखो दन्तले छातिमा घोचेर मार्यो भन्ने छ ।

कुनैमा भने वराहले सारा ब्रह्माण्डको शक्ति आफ्नो मुठ्ठिमा लिएर हिरण्याक्षलाई एक मुक्का हानेर मारेको भन्ने कथन छ ।

नेपाली साथै भारतमासमेत वैष्णव समाजमा भगवान नारायणको साथै उनका विभिन्न अवतारलाई विभिन्न तरीकाले पूजाआजा गर्ने गरिन्छ । तर नेपालमा वराहको पूजा अथवा चर्चा खासै देखिँदैन ।

साथमा वराह जयन्तीको पनि न त खासै चर्चा हुन्छ न त यस अवसरमा कुनै ठुलो पूजा, हवन वा कुनै धार्मिक, सामाजिक कार्यक्रम इत्यादि नै गर्ने गरिएको छ ।

नेपालमा पनि विभिन्न ठाँउमा वराहको मन्दिरहरु रहेका छन् । यस्तै हरेक कार्तिक शुक्ल द्वादशीको दिन पाटन दरबार क्षेत्रमा कार्तिक नाच अन्तर्गत वराह अवतार प्रदर्शन गर्ने गरिन्छ ।

वि.स १७२८ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यस नाचमा हिरण्याक्षले देव गणको यज्ञ बिध्वंस गरेको र वराह प्रकट भई हिरण्याक्षको बध गरेको दृश्य सबैमाझ देखाइन्छ ।

अठार पुराणमध्ये वराह पुराण पनि एक हो । बराह भगवानको ध्यान, जप, पूजा, व्रत वा पाठपारायण गरे जीवनका अन्धकाररूपी संकट हटेर ज्ञान, धर्म र पुण्य प्राप्त हुने जनविश्वास रहि आएको छ ।

Categorized in संस्कृति