चलचित्र क्षेत्रलाई आदिवासी मैत्री बनाउने अध्यक्ष केसीको प्रतिवद्धता
SamacharDesk – बिराज | २०७९ श्रावण १८, बुधबार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा आदिवासी मैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
बुधबार विकास बोर्डको हलमै आदिवासी जनजाति चलचित्र महासंघको प्रतिनिधिहरुसँग भेटघाट गर्दै अध्यक्ष केसीले यस्तो भनेका हुन् ।
आफुले चलचित्र क्षेत्र र यस क्षेत्रमा विद्यमान समस्याहरु राम्ररी बुझेको हुँदा यस्ता सम्पूर्ण समस्या हटाउनकै लागि बोर्डमा आएको बताउनुभयो ।
‘म एउटा जागिर खानको लागि यहाँ आएको होइन । यस क्षेत्रमा विद्यमान सम्पूर्ण समस्या समाधानमा जुट्नका लागि आएको छ । आदिवासी जनजाति चलचित्र क्षेत्रमा विद्यमान समस्या पनि हामी सबै मिलेर समाधान गर्नेछौं’ केसीले भने ।
आदिवासी जनजातिमा विद्यमान समस्याको साथमा चलचित्रकर्मीले भोग्दै आएका समस्याहरुलाई पनि समाधानका सुझावसहित लिखित रुपमै लिएर आउन केसीले आग्रह गरे ।
समस्याको समाधानका लागि आफुले सक्दो पहल गर्ने र आवश्यक भए महासंघको टोलीसँगै आफु पनि मन्त्रालयमै जानुपरे पनि पछि नहट्ने प्रतिवद्धतासमेत केसीले व्यक्त गरे ।
सो समयमा महासंघका अध्यक्ष अमृत सुनुवारले आदिवासी जनजाति चलचित्रले निर्माण इजाजत प्राप्त गर्नेदेखि लिएर सेन्सरसम्मका भोग्दै आएका समस्याहरुको बारेमा अध्यक्ष केसीलाई जानकारी गराएका थिए ।
आदिवासी संस्कृति नबुझेका व्यक्तिहरुलाई जनजाति चलचित्रको सेन्सरका लागि निर्णायक मण्डलमा राखिँदा समस्या हुने गरेको सुनुवारले गुनासो गरे ।
‘कतै मामाचेला, फुफुचेलीको संस्कृति होला, नेवार समुदायमा रक्सीसहित अण्डा सगुन दिने चलन होला । यी संस्कृति नबुझ्ने मान्छेले फिल्म सेन्सर गर्दा दाजुबहिनीको बिहे देखायो, रक्सी खाएको सीन हटाउ भन्ने खालको अवस्था छ, यसमा पनि अध्यक्षज्यूले ध्यान दिनुहोला’ अध्यक्ष सुनुवारले भने ।
सीमित बजार र लगानीमा काम गर्नुपर्ने जनजाति चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिको लागि पनि बोर्डले विशेष ध्यान दिन जनजाति चलचित्रकर्मीहरुले आग्रह गरेका थिए ।
सो समयमा महासंघले बोर्डका नवनियुक्त अध्यक्ष केसीलाई सम्मान पत्रसहित सम्मान पनि गरेको थियो भने आदिवासी चलचित्र क्षेत्रको विकासको लागि भन्दै १० बुँदे मागसहित ज्ञापनपत्रसमेत बुझाएको थियो ।
कार्यक्रममा महासंघमा आवद्ध विभिन्न १६ वटा जातीय समुदाय सम्वद्ध चलचित्रकर्मी संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
Categorized in पेजथ्री