arin enterprises

संचारकर्मी धनेशराज बने नृसिंह

SamacharDesk – बिराज | २०७९ भाद्र १, बुधबार

पाटनको ऐतिहासिक उपाकलं सायाः नृसिंह यात्रामा यस वर्ष भक्तपुरका संचारकर्मी धनेशराज राजोपाध्यायनृसिंह बनेका छन् ।

पाटनका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीबाट संचालन हुँदै आएको जात्रामा संचारकर्मी राजोपाध्याय नृसिंह बनेर नगर परिक्रमा गरेका हुन् । नृसिंहसँगै लक्ष्मी, सरस्वती र प्रह्लादको साथमा अप्सरागणले ललितपुरको सायाः रुट परिक्रमा गरेका थिए ।

जात्रा सुरु गरिनु अघि समाचारडेस्कसँग कुरा गर्दै राजोपाध्यायले यस किसिमको ऐतिहासिक धार्मिक पर्वमा नृसिंह भगवानकै रुप लिएर सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

साथमा समयसापेक्ष यस जात्रालाई आधुनिक प्रविधिसँग जोडेर अगाडी बढाउनुपर्ने सुझाव पनि राजोपाध्यायले दिए ।

संचारकर्मी राजाेपाध्याय भक्तपुर एफ.एम. १०५.४ मा कार्यक्रम संचालककाे साथमा बाेर्ड सदस्य समेत हुन् ।

नृसिंह यात्राले परिक्रमा गर्ने क्षेत्र

पाटनका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीले संचालन गर्दै आएको जात्रा यस वर्ष पुर्णचण्डीबाट निकालिएको थियो ।

पुर्णचण्डीबाट निकालिएको जात्रा गाःबहाल हुँदै प्यंगःथां, पिम्बहाल, हाम्वःननि, बालिफल, नकबहिल, क्वालखुबाट झटापोल, कुम्भेश्वर, स्वथबाट मंगलबजार पुगेर विश्राम लिइएको थियो । जात्रामा विश्राम लिने यस परम्परालाई झाःझू भन्ने गरिन्छ ।

झाःझू पछि फेरी शुरु भएको जात्रा मंगलबजारबाट हःखा, सौगल, सुन्धारा, महाबौद्ध, ओकुबहाल, थैना, चक्रबहिल, टङ्गल, हौगल, तिच्छुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पुर्णचण्डीमै पुगेर सम्पन्न भएको थियो ।

उपाकर्म गुठी ललितपुरका सदस्यहरुबीच ज्येष्ठताको आधारमा पालो चलाइने जात्राको पालो यसपालि पाटन पट्कोका केदार ज्वालानन्द राजोपाध्यायले चलाएका थिए ।

पालोवालाको ज्वाईँ अथवा भान्जा अथवा पुरोहितलाई नरसिंह बनाई नगर परिक्रमा गराउने परम्परा रहेको छ । सोही परम्परा अनुसार केदार ज्वालानन्दका भान्जी ज्वाईँ धनेशराज नृसिंह बनाइएको हो ।

यस वर्ष जात्रामा सजेश राजोपाध्याय र सजिल राजोपाध्याय लक्ष्मी, सरस्वती बनेका थिए भने ललितपुर पट्कोका श्लोक राजोपाध्याय प्रह्लाद बनेका थिए ।

बल्ल यस वर्ष पुरै तामझामका साथ मनाइयो जात्रा

दुई वर्ष पछि यस वर्ष भने पुरै तामझामका साथ जात्रा मनाइएको थियो ।

विगतका दुई वर्ष कोभिड महामारीका कारण औपचारिकतामा मात्र सिमित हुँदै लक्ष्मी, सरस्वती र प्रह्लादसँग नृसिंह भगवानलाई मात्र नगर परिक्रमा गराउँदै जात्रा सम्पन्न गरिएको थियो ।

यस वर्ष भने ६ जोडी अप्सराले पनि जात्रालाई शोभायमान बनाएको थियो ।

६ जोडी अप्सरामा शुरुको जोडीले कुचो समाउँदै अगाडी बढेको थियो । त्यसपछि क्रमशः गोरस, लावा र अभीर, चमर, पंखा र अन्तिमको अप्सरा जोडीले दण्ड समाएको थियो ।

सँगसँगै भजन टोलीका साथै बाजागाजाले जात्राको रौनकता थपेको थियो । भजन टोलीले धार्मिक वातावरणलाई अझ आध्यात्मिक बनाएको थियो भने युवाहरुको धिमेय् समूहले माहौल गर्माएको थियो ।

जात्राको संक्षिप्त इतिहास र परिचय

करीब ३९० वर्ष पुरानो मानिएको जात्रा पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको मानिएको छ ।

सुरुमा पाटन श्रीधर नारायणको यात्रा निकालिने गरिएकोमा कुनै एक साल यात्राको क्रममा देवगणको साथै जात्राका सहभागीहरुमाथि सांघातिक आक्रमण भएको र त्यसपछि श्रीधर नारायण जात्रा बन्द गरी नरसिंह जात्रा निकालिने गरिएको विज्ञहरु बताउँछन् ।

आजको दिनसम्म अटुट रुपमा चल्दै आएको दावी गरिएको यो जात्राको देव ब्राह्मणहरुको उपाकर्मसँग प्रत्यक्ष सम्वन्ध रहेको छ ।

श्रावणी कर्म अन्तर्गत गरिने देव ब्राह्मणहरुको उपाकर्मले यो जात्रा भएपछि मात्र पूर्णता पाउने बताइन्छ ।

यो जात्रा, विना कुनै विघ्नवाधा सम्पन्न भएमा विश्वशान्ति हुनुका साथै भुकम्प, बाढिपहिरो, चट्याङ लगायतका दैवीप्रकोपले दुःख नदिने, रोगव्याधी निर्मूल हुने जनविश्वास रहि आएको छ ।

पाटनमा कात्तिक नाचका नृसिंहलाई उग्र रुपका र उपाकलं सायाःकालाई शान्त रुपको नृसिंहको रुपमा लिइन्छ ।

Categorized in संस्कृति