arin enterprises

कार्तिक नाच नगरपरिक्रमा ललितपुरमा सम्पन्न

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ भाद्र १८, शनिबार

 ललितपुरको ऐतिहासिक मल्लकालिन कार्तिक नाच परिक्रमा सम्पन्न भएको छ । प्रत्येक  ६ बर्षमा आयोजना हुने कार्तिक नाच नगर परिक्रमा शनिबार सम्पन्न भएको हो ।

प्रत्येक वर्ष कार्तिक नाच प्रदर्शन गरिने मंगलबजारको कार्तिक डबलिबाट सुरु भएको नगर परिक्रमा हःखाबाट सौगल हुँदै सुन्धारा, महाबौद्ध, ओकुबहाल, थैना, चक्रबहिल, टङ्गल, हौगल, तिच्छुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पुर्णचण्डी पुगेको थियो ।

पुर्णचण्डीबाट निरन्तर हुँदै गाःबहाल, प्यंगःथां, पिम्बहाल, बालिफल, नकबहिल, क्वालखुबाट झटापोल, कुम्भेश्वर, स्वथ हुँदै मंगलबजारको कार्तिक डबलिमै पुग्र नगर परिक्रमा सम्पन्न भएको थियो ।

परिक्रमाको क्रममा नगर परिक्रमाको रुटमा परेको विभिन्न स्थानमा नाचहरु पनि प्रस्तुत गरिएको थियो । मंगलबजार कार्तिक डबलीकबाट परिक्रमा सुरु भएपछि हःखा कोत डबलीमा, सौगल डबली, थपाहिति डबली, इखालखु डबली, गाःबहाल डबली, नकबहिल डबली, कोबहाल डबलीको साथै मंगलबजारस्थित भीमसेन मन्दिर अगाडिको डबली र अन्त्यमा मंगलबजारको कार्तिक डबलीमा नाचहरु प्रस्तुत गरिएको थियो ।

सो क्रममा कृष्णगण नाच, इन्द्रगण नाच, महादेवगण नाच, देवी नृत्य, कवं नाच, ख्याः प्याखं, द्यःला नाच, गरुड नाच, कुमार नाच, लाखे नाच, राजहंश राजहंशी नाच, कामसेन राज र विकताक्षर युद्ध, महादेव कृष्ण युद्ध, शितज्वर विष्मज्वर युद्ध, ब्रह्मालगायतका नाचहरु प्रस्तुत गरिएको थियो ।

कार्तिक नाचमा नयाँ कलाकारहरु प्रवेश गर्न मंगलबजारको नृत्येश्वर (नासः द्यः) लाई किसलि चढाउने परम्परा रहेको छ ।

किसलि चढाएपछि नयाँ कलाकारलाई प्रशिक्षण दिन सुरु गरिन्छ । प्रशिक्षण सम्पन्न भएपछि नयाँ कलाकारहरुलाई बहिर ल्याउने चलन रहेको छ जसलाई स्थानीय नेपालभाषा पिथनेगु भनिन्छ ।

‘हाम्रो नयाँ कलाकारहरु नाच्न तैयार छ भनी जनमानसमा सन्देश दिनुका लागि नै नगर परिक्रमा गरिने कार्तिक नाच प्रवन्ध समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।

नगर परिक्रमाको क्रममा कलाकारहरु पोशाक फेर्ने, बिग्रेका गरगहनाहरुको मर्मत आदिको साथै नपुगेको थप्ने चलन रहेको पनि अध्यक्ष चित्रकारले समाचारडेस्कलाई जानकारी दिए ।

 

‘पहिले १२ बर्षमा एक पटक हुने नगर परिक्रमा हाल आएर मात्र प्रत्येक ६ बर्षमा गरिँदै आएको छ । १२ बर्षसम्म एउटै कलाकारले निरन्तरता दिन नसक्ने र पोशाकहरु पनि नटिक्ने भएकोले गत १२ बर्षदेखि ६ बर्षमा आयोजना गर्न थालिएको हो’ अध्यक्ष चित्रकारले भने ।

त्यस्तै विगतका वर्षहरुमा नगर परिक्रमाको क्रममा कलाकारहरु नगर घुम्ने मात्र गर्दथे, कोहि पनि नाच्दैन थिए । तर गत ६ वर्ष अघिको नगर परिक्रमादेखि रुटमा पर्ने डबलीहरुमा नाच पनि नचाउन थालिएको छ ।

हाल डबलीहरु धमाधम मासिँदै गएको अवस्थामा कम से कम ६ बर्षको एकपटक भएपनि कातिक नाच नगर परिक्रमामा यहाँ नाच प्रदर्शन गर्नुपर्छ भन्ने उद्देश्यले पनि डबलीहरुको संरक्षण हुन सक्ने चित्रकारको विश्वास छ ।

 

आर्थिक व्यवस्था

हाल यो नगर परिक्रमा कार्यक्रम संचालनका लागि संघीय, प्रदेश वा स्थानीय सरकार कहिँ कतैबाट कुनै किसिमको बजेट छुट्याइएको छैन । विना कुनै सरकारी सहयोग विभिन्न सामाजिक साथै बित्तिय संघसंस्थाहरुको अनुदानबाट यो कार्यक्रम संचालन भइरहेको छ ।

६ बर्ष अघि सहयोग गरेको ललितपुर महानगरपलिकाले पनि यो बर्ष थप अनुदान दिन नचाहेको अध्यक्ष चित्रकारको गुनासो छ । महानगरले कार्तिक महिनामा गर्ने कार्तिक नाचको लागि १ करोडको अक्षय कोष खडा गरेको छ ।

महानगरले सोही कोषको ब्याजबाट कार्तिक नाचको साथै नगर परिक्रमा दुवै संचालन गर्नलाई भनेको चित्रकारले बताउनुभयो ।

उक्त अक्षय कोष कार्तिक महिनामा हुने कार्तिक नाच संचालनको लागि थियो भने यो नगर परिक्रमा छुट्टै कार्यक्रम भएको कार्तिक नाच प्रवन्ध समितिको भनाई छ ।

कात्तिक नाच एक पटक संचालन गर्दा कलाकारको पारिश्रमिक पोशाक, बाद्यबादकको पारिश्रमिक, खाजा व्यवस्थापन आदि गरी दश लाख बढिको खर्च हुने समितिले जनाएको छ ।

 

यो बर्ष यस कार्यक्रमको लागि आर्थिक अवस्था निकै नाजुक रहेको चित्रकारको भनाइ छ । परिक्रमाको रुटमा पर्ने वडाका वडाध्यक्षहरुसँग कुरा राख्दा वडाको बजेट निष्कासन भएपछि यो कार्यक्रको लागि सहयोग गर्ने आश्वासन पाएको उनले जानकारी दिए ।

यस पटक आर्थिक श्रोत जुटाउँदा जुटाउँदै समय सकिएको उहाँको भनाई छ । दुई महिना अघिदेखि महानगरमा तथा विभिन्न संस्थामा आर्थिक सहयोगको लागि पत्राचार गर्दा पनि श्रोत जुटाउन समय नपुगेको अध्यक्ष चित्रकारले बताए ।

आगामी ६ बर्षमा यो नगर परिक्रमाको लागि छुट्टै अक्षय कोष बनाउने कार्तिक नाच संरक्षण समितिको लक्ष्य रहेको छ ।

यदि अक्षय कोष खडा भएमा आर्थिक श्रोत जुटाउन समय खर्चिनु नपर्ने भएपछि त्यसबाट बच्ने समय बाकि कामहरुमा पुरै जोश जाँगरका साथ लाग्न सकिने उनको आशा छ ।

Categorized in संस्कृति