समूह विजेता बन्दै ब्राजिल अन्तिम १६ मा
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १४, बिहिबार

बुधबार राति सम्पन्न खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल समूह ईको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
खेलमा ब्राजिललाई पाउलिन्हाले अग्रता दिलाए । ३६औं मिनेटमा काउटिन्हाको पासमा पाउलिन्हाले टिमलाई पहिलो गोल र्दि ।
आक्रामक रुपमा मैदानमा उत्रेको सर्वियाले पनि ब्राजिललाई निकै दवावमा राखेको थियो । दोस्रो हाफको सुरूवाति १५ मिनेटमा सर्वियाले थुप्रै गोलका प्रयास गरेपनि असफल रह्यो ।
सर्वियाको आक्रमणको प्रयासलाई ब्राजिलियन डिफेन्डरको घेराले पनि उत्तिकै रोक्यो भने डिफेन्डरको घेरा तोडेर अगाडि पोष्टसम्म पुगेको बललाई पनि गोलकिपरले जाली चुम्न दिएन ।
खेलको ६८ औं मिनेटमा थिएगो सिल्भाले टिमलाई दोश्रो गोल दिएपछि ब्राजिलको जित सुनिश्चित बन्यो ।
ब्राजिलले पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ बराबरी खेलेको थियो । दोस्रो खेलमा कोष्टारिकाविरुद्ध इन्जुरी टाइममा मात्र गोल गर्न सकेको थियो ।
त्यसैले पनि ब्राजिललाई हराउन सकेमा सर्वियालाई अर्को चरणमा जाने आशा थियो । तर, ब्राजिलको कुशल रणनीतिको अगाडी सर्विया निराश बन्नुपर्यो ।
समूह ईबाट स्वीट्जरल्याण्ड भने समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
Categorized in स्पाेर्ट्स