इजरायल हमलामा १० नेपालीको मृत्यु भएको पुष्टि
SamacharDesk | २०८० आश्विन २२, सोमबार

शनिबार इजरायल र प्यालेस्टाइनबीच भएको युद्धमा परी १० नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ ।
इजरायलस्थित नेपाली दूतावासले १० जना नेपालीको मृत्यु भएको र एकजना सम्पर्कबिहीन भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
राजदूत कान्ता रेग्मीका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
त्यस्तै पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ । आक्रमणमा सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् भने उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा र भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेको दुताबासले जनाएको छ ।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा गोली लागेको बुझिएको छ । इजरायलमा हाल ४५ सय नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् ।
यसैबीच, सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन र समस्यामा परेकाहरुको उद्धारका लागि लगत संकलन सुरु गरेको जनाएको छ ।
हाल तेलअभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालमा रहेको र हवाईमार्ग सुचालु भएकाले मृतक नेपालीको शव ल्याउन र घर फर्किन इच्छुकलाई पनि फर्काउने प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय