महानगरले १५ हजारलाई रोजगार दिने
SamacharDesk | २०८० आश्विन २२, सोमबार

‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ अन्तर्गत काठमाडौं महानगरपालिले महानगर भित्रका १५ हजार जनालाई शीपमूलक तालिम दिने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम दिने स्वर्णीम गौरव कार्यक्रम घोषणा गरेको हो ।
मेयर शाहले महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सार्नुभएको हो । महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरेर तालिम शुरु गरिने पनि उहाँले बताउनुभएको छ ।
काठमाडौंका १४ स्थानमा तालिम दिने महानगरको तयारी रहेको पनि उहाँले जानकारी दिनुभएको छ । तालिमप्राप्त जनशक्तिलाई महानगर भित्रका पूर्वाधार विकास, वातावरण विकास, सरसफाइ जस्ता विभिन्न कार्यमा लगाउन सकिने र सरकारी तथा निजी संघसंस्थामा पनि आवद्ध गराउन सकिने पनि बताउनुभएको छ ।
महानगरपालिकाको श्रम बैंकमा दक्ष, अदक्ष र अर्धदक्ष सबैलाई समेटेर जब पोर्टल बनाउन लागिएको जानकारी दिंदै मेयर शाहले त्यसमा आवद्ध हुन निजी संघसंस्थालाई पनि आग्रह गर्नुभएको छ ।
Categorized in स्थानीय