arin enterprises

मंगलबार राष्ट्रिय शोकको घोषणा

SamacharDesk | २०८० आश्विन २२, सोमबार

इजरायल आक्रमणमा परी १० नेपालीको ज्यान गएकोमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०र१० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

मृतकको शव परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यथाशीघ्र ल्याउने तयारी गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपिन सुवेदीसँग संवाद गर्नुभएको हो ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ ।

Categorized in राष्ट्रिय