arin enterprises

न्युजिल्याण्डको लगातार दोस्रो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २३, मंगलबार

आईसीसी एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । आईतबार भएको खेलमा न्युजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हराएको हो ।

न्युजिल्याण्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४६ दशमलव ३ ओभरमा २ सय २३ रन बनाउँदै अलआउट भयो ।

नेदरल्याण्ड्सका कालिन एकरमेनले सर्वाधिक ६९ रन बनाए । स्काट एडवर्ड्सले ३० रन बनाएको इनिङ्समा साइब्रान्ड एनगेलब्रेक्टले २९ रन बनाए ।

तेजा निदामानुरु २१, बास डी लिड १८, म्याक्स ओडाड १६, बिक्रमजित सिंह १२ र आर्यन दत्त ११ रनमा आउट भए ।

नेदरल्याण्ड्सलाई अलआउट गर्ने क्रममा मिचेर सेन्टनरले ५ विकेट लिए । उनी विश्वकपको एकै खेलमा ५ विकेट लिने न्युजिल्याण्डका पहिलो स्पिनर बने ।

माट हेनरीले ३ तथा रचिन रवीन्द्रले १ विकेट हात पारिन् ।

सुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनायो ।

न्युजिल्याण्डको लागि विल योङ्गले सर्वाधिक ७० रन बनाए । टम लाथले ५३ र रचिन रविन्द्रले ५१ रनको अर्धशतकीय पारि खेले ।

डेरिन मिशेलले ४८ रन बनाएको इनिङ्समा मिचेल सेन्टनरले अविजित ३६, डेवोन कान्वेले ३२ रन बनाए ।

नेदरल्याण्ड्सका आर्यन दत्त, पाउल वेन मिकेरेन, रुलोफ वान डेर मेरवेले समान २ तथा बास डी लीडेले एक विकेट हात पारे ।

दुई खेलमा न्युजिल्याण्डले लगातार जित निकाल्दै ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यता नेदरल्याण्ड्स लगातार दोस्रो खेलमा पराजित बनेको हो । उसलाई पहिलो खेलमा पाकिस्तानले हराएको थियो ।

Categorized in स्पाेर्ट्स