हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो
SamacharDesk | २०८० आश्विन २४, बुधबार

इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ताले बुधबार बताएका छन् ।
उता इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।
गाजापट्टी लक्षित हवाई हमलामा हमासका अर्थमन्त्री सहित अन्य एक पोलिटब्युरो सदस्य मारिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका अर्थमन्त्री अबु शामाला मारिएको जानकारी गराउनुभएको हो ।
हमलामा प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का अन्य एकजना पोलिटब्युरो सदस्य पनि मारिएको बताइएको छ ।
यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ९ सय बढी पुगेको छ भने घाइते हुनेको सख्यया चार हजार नाघेको छ ।
इजरायलले हमासले बन्धक बनाएकाहरुको तत्काल रिहा गर्न गरेको मागलाई अस्वीकार गरेको छ । हमासले युद्धकाबीच १५० बढीलाई बन्धक बनाएको जनाइएको छ । यसैबीच इजरायलको अश्केलेन शहरमा हमासका लडाकु छिरेको आशंकामा उच्च सतर्कता अपनाइएको छ ।
हमासका केही लडाकु अश्केलेन शहरमा प्रवेश गरेको आशंकामा इजरायलले सुरक्षा सतर्कता बढाएको हो । साथै उसले सिमावर्ती शहरका वासिन्दालाई घरभित्र सुरक्षित रुपमा बस्न आग्रह समेत गरेको छ ।
पछिल्लो समय लेबनानको हिजबुल्लाह लडाकु तथा सिरीयामा रहेका इजरायल विरोधी समुहले पनि सिमावर्ती क्षेत्रबाट इजरायली भूमिमा आक्रमण थालेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय