विश्वको मित्र देश नेपाल हो : महासचिव गुटेरेस
SamacharDesk | २०८० कार्तिक १४, मंगलबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वकै मित्र भएको बताउनु भएको छ ।
आज अपरान्ह संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकलाईसम्बोधन गर्दै महासचिव गुटेरसले यस्तो कुरा बताउनुभएको हो ।
नेपाल जस्तो असाधारण देशको भ्रमण गर्न पाउँदा आफू ज्यादै खुशी भएको भन्दै उहाँले विश्व नेपालका लागि असल मित्र बन्नुपर्छ भन्नुभयो ।
नेपालमा सङ्घीय सांसदहरूसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उहाँले चर्चा गर्नुभयो । मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उहाँले चर्चा गर्नुभयो ।
आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उहाँले बताउनुभयो । सम्बोधनका क्रममा शान्ति प्रक्रिया ज्यादै जटिल विषय भएको उल्लेख गर्दै महासचिव गुटेरसले संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्याउने सन्दर्भमा नेपाल एक्लो छैन भन्नुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको सर्वोच्च अदालतको आदेश र पीडितहरुका समस्या सम्बोधनका लागि संयुक्त राष्ट्रसंघ नेपालसंगै रहेको उहाँको प्रष्टोक्ति थियो । विगत २० वर्षमा नेपालको शान्ति प्रक्रिया हेर्नलायक रहेको गुटेरसको भनाइ थियो ।
ठूला राष्ट्रहरुबीच द्वन्द्व बढ्दा आफू पनि अप्ठेरोमा पर्ने हो कि भन्ने डर साना राष्ट्रहरुमा रहेको भन्दै उहाँले विश्वका दुई ठूला शक्तिका बीचमा रहेको नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि आफ्नो मार्ग आफैले बनाएको छ भन्नुभयो ।
“जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भन्नुभयो, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैँ रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता ।
म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।”
विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपाली भूमिमा आएको चर्चा गर्दै उहाँले भन्नुभयो– हजारौं माइल टाढाको मध्यपूर्वमा हमासको क्रूर आक्रमणमा पनि नेपालीहरु मारिंदा म दुखि छु ।
नेपाल शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो भन्दै महासचिवले भन्नुभयो– घातक प्रकोपका रुपमा फैलिरहेको जलवायु परिवर्तनका सङ्कटहरूको प्रतिकार गर्न विश्वले नेपालबाट सिक्नु पर्ने बताउनुभयो ।
आफू पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएको स्मरण गर्दै उहाँले आफू जति पटक यहाँ आउँदा पनि छक्क पर्ने गरेको बताउनुभयो ।
“हिमालयमा पर्ने सूर्यका किरण, नेपाली जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधता” सधैं आफ्नो मनमा रहिरहने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय