arin enterprises

रिगललाई आममाफी दिने सरकारी निर्णय उल्टियो

SamacharDesk | २०८० कार्तिक १६, बिहिबार

सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

न्यायाधिश खतिवडाले इजलासमा आदेश सुनाउँदै ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने आदेश भएको’ बताउनुभयो ।

अदालतको फैसलामा भनिएको छ, “निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।”

सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि आदेश दिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएपछि उनी रिहा भएका थिए ।

उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वको टोलीले बहस गरेको थियो ।

Categorized in राष्ट्रिय