जाजरकोटमा हिजो फेरि परकम्पको झड्का
SamacharDesk | २०८० कार्तिक २१, मंगलबार

गत शुक्रबार राती गएको भूकम्पबाट तहसनहस भएको जाजरकोटमा हिजो फेरि भूकम्प गएको छ ।
हिजो जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर अपरान्ह पुनः भूकम्प जाँदा थप घरहरु भत्किएका छन् भने केही मानिसहरु घाइते भएका छन् ।
अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प जाँदा जाजरकोट रिम्ना–खलंगा सडकमा सुख्खा पहिरो खस्दा सडक केही घण्टा अवरुद्ध बनेको थियो ।
डोजर लगाएर सडक खुलाइएपछि यातायातका साधन पार गराइएको प्रहरी जनाएको छ । गत शुक्रबार भूकम्प गए यता झन्डै चारसय परकम्प गईसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
करीब ४० वटा परकम्प चार रेक्टर स्केल माथिका रहेकोमा हिजो अपरान्ह ५ दशमलव ८ रेक्टरको परकम्प गएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार भेरी नगरपालिका–४, रानागाउँमा परकम्पले एउटा घर भत्काएको छ भने कुशे गाउँपालिका–५ मा एकजना र भेरी नगरपालिकामा–१ मा एकजना गरी दुई जना घाइते भएका छन् ।
कुशे गाउँपालिकामा ढुंगा खसेर बाटो हिंडिरहेका एक जना घाइते भएका हुन । यस्तै रुकुम पश्चिमा थप १० जना घाइते भएका छन् । उनीहरूको जिल्लाकै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिनुभएको छ ।
भागदौडमा कसैको खुट्टा भाँचिने, मर्किने भएको जनाइएको छ ।
Categorized in राष्ट्रिय