पैदलयात्रु आफैँले ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
SamacharDesk – समाचारडेस्क | २०८० मङ्सिर ११, सोमबार

काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ । सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो ।
बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए ।
पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताइएको छ । अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको छ ।
महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरिरहेको जनाइएको छ ।
यस सम्बन्धमा वागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रुपमा जेब्रा ट्राफिक राखेपनि दीर्घकालीन रुपले यो हाइवेमा अर्थपूर्ण नहुने बताउनु भयो ।
उहाँले यसका लागि जनप्रतिनिधिहरुले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको बताउनु भयो ।
उहाँले आगामी वर्षमा दीर्घकालीन रुपमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।
Categorized in राष्ट्रिय