arin enterprises

गायक प्रकाश सपुतले माफी मागे

SamacharDesk – बिराज | २०८० मङ्सिर २१, बिहिबार

गायक प्रकाश सपुतले नेवाः समुदाय र सम्पदा प्रेमीहरुसँग माफी मागेका छन् । म्यूजिक भिडियो सुटिङको क्रममा आफुले कुमारीको इनारमा चढेर नाचेको विषयमा गायक सपुतले माफी मागेका हुन् ।

करीब चार महिना अघि ‘कमाउने नि हो, रमाउने नि हो’ गीतको म्यूजिक भिडियो सुटिङको क्रममा गायक सपुतसँगै मोडल जुना विश्वकर्माले काठमाडौंको वसन्तपुरस्थित डबलीमा रहेको कुमारीको इनारमा चढेर नाच्दै सुटिङ गरेका थिए ।

अहिले उक्त सुटिङको क्लीप बाहिरिएसँगै धार्मिक र सांस्कृतिक महत्वको इनारमा टेकेको भन्दै गायक सपुतको चौतर्फी आलोचना भएको हो ।

सामाजिक संजालभरी आफ्नो आलोचना हुन थालेपछि आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै सपुतले माफी मागेका हुन् ।

‘यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होईन ! म कलाकारको रुपमा त्यहाँ थिएँ र मलाई त्यसरी ईनार माथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यति खेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु’ गायक सपुत लेख्छन् ।

विशेष गरेर सो इनारलाई आफ्नो आस्था र विश्वास मान्दै आएको नेवाः समुदायप्रति क्षमा याचना गर्दै सपुतले अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निरास बनाएकोमा आफु मनैदेखि दुःखी रहेको पनि भनेको छन् ।

‘यो ईनार माथि थुप्रै मानिसहरु बसेर फोटो भिडियो बनाउँदै रमाइरहनु भएको थियो । शर्ट राम्रो हुने देखेपछि निर्देशकज्युले फ्रेम लगाउनु भयो । भिडभाडले गर्दा मानिसहरुलाई आवतजावतमा पनि समस्या हुने र टिमलाई काम गर्न पनि गार्हो हुने भएकाले म कुनामा लुकेर बसेको थिएँ । एक्शन भनेपछि फुत्त उक्लिएँ र नाचिहालें’ गायक प्रकाशले लेखेका छन् ।

यसमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य नजोडिएको भन्दै प्रकाशले आफुहरुले हामीले तत्काल महशुस गरेको र त्यसरी टेकेर नाचेको पुरै सिन भिडियोमा नराखेको पनि बताउँछन् ।

अहिले यो ईनार वरिपरि फुलको गमला राखेर ईनार माथि नबस्नु सूचना राखेपछि यो अझै सुन्दर र सुरक्षित बनेको उनको भनाई छ ।

‘अब यहाँ न कुनै जोडि खुट्टा झुण्डाएर मस्किने छन, न कुनै प्रकास सपुत आएर छमछम नाच्नेछ । यो एउटा ऐतिहासिक महत्वको सम्पदा बनेर सजिने छ । यसरी नै हाम्रा सम्पदाहरुको संरक्षण हुँदै जाने हो । यसमा म सँधै सचेत छु’ गायक सपुत थप्छन् ।

आफ्नो स्टाटसको अन्तमा गायक सपुतले देवी कुमारीले सबैलाई सकरात्मक उर्जा प्रदान गरुन् र आफुलाई नयाँ सिर्जना गर्ने क्षमता दिउन् भन्न कामना गरेका छन् ।

यो पनि पढ्नुहोलाः कुमारीको इनारमा टेकेको भन्दै फेरी विवादमा गायक प्रकाश सपुत

Categorized in पेजथ्री