रियल म्याड्रिड बन्यो विश्वकै सर्वाधिक कमाउने फुटबल क्लब
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १२, शुक्रबार

स्पेनीस क्लब रियल म्याड्रिड विश्वकै सबभन्दा धेरै कमाउने फुटबल क्लब बनेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई उछिन्दै स्पेनीस महारथी क्लब धेरै कमाउने क्लब बनेको डेलोइटले कम्पनीले देखाएको हो ।
रियलले सन् २०२२–२३ को सिजनमा ८३ करोड १० लाख युरो आर्जन गर्दै सबभन्दा धेरै आम्दानी गर्ने क्लबको सूचीमा शीर्षस्थान हासिल गरेको छ ।
रियलले कोपा डेल रे, युईएफए सुपर कप र फिफा क्लब विश्वकप जित्ने क्रममा सबैभन्दा बढी आम्दानी गरेको थियो ।
यो आम्दानीपछि रियल सन् २०१७–१८ पछि पहिलोपल्ट सबभन्दा बढी कमाउने फुटबल क्लबको शीर्षस्थानमा फर्किएको हो ।
यसबीच सिटि नै शीर्ष स्थानमा यथावत रहेको थियो ।
यस्तै सिटीले गत सिजन ८२ करोड ६० लाख युरो कमाउँदै दोस्रो स्थानम रह्यो । यो आम्दानीमा सिटिलाई एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिको जितले साथ दिएको थियो ।
२०२१–२२ को सिजन सिटीले ७३ करोड १० लाख युरो कमाएको थियो भने रियलले ७१ करोड ३७ लाख युरो आर्जन गरेको थियो । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ८० करोड १८ लाख युरो कमाउँदै तेस्रो स्थानमा रह्यो ।
स्पेनी क्लब बार्सिलोनाले ८० करोड १ लाख युरो कमाउँदै चौथो र प्रिमियर लिग क्लब म्यानचस्टर युनाइटेडले ७४ करोड ५८ लाख युरो कमाई सहित शीर्ष पाँचमा रहेका छन् ।
बायर्न म्युनिख ७४ करोड ४० लाख युरो कमाउँदै छैटौंमा रह्यो । बायर्न सबैभन्दा धेरै कमाउने जर्मन क्लब हो ।
यस्तै गत सिजन धेरै कमाउनेमा तेस्रो स्थानमा रहेको लिभरपुल यसपाली सातौंमा पुगेको छ । यससिजन लिभरपुलले ६८ करोड २९ लाख युरो कमायो । उसले अघिल्लो सिजन ७० करोड १८ लाख युरो कमाएको थियो ।
प्रिमियर लिगका टोटेनहम, चेल्सी र आर्सनल शीर्ष दसमा रहेका छन् । न्युकासल र वेस्टह्याम १७ औं र १८ औं मा छन् ।
धेरै कमाउने क्लबको शीर्ष २० मा अघिल्ला दुई सिजन प्रिमियर लिगका १० क्लब थिए भने यसपाली आठ टिम मात्र रहेको छ ।
इटालीका चार, स्पेनका तीन, जर्मनीका तीन र फ्रान्सका दुई क्लब शीर्ष २० मा छन् ।
प्रिमियर लिगका लेस्टर सिटी, लिड्स युनाइटेड र एभर्टन शीर्ष २० बाट बाहिरिए ।
यी शीर्ष २० क्लबको आम्दानी १४ प्रतिशतले बृद्धि भएर कीर्तिमान २० अर्ब ५० करोड युरो पुगेको छ । ब्रोडकास्टको आम्दानी ५ प्रतिशतमात्रै बृद्धि भएको छ ।
शीर्ष २० मा रहेको मध्ये १७ क्लबको आम्दानी प्रत्येक वर्ष बढेको देखिएको छ ।
सन् २०१५–१६ पछि पहिलोपल्ट व्यवसायिक आम्दानीले कोभिड १९ ले प्रभावित २०१९–२० को सिजनलाई छाडेर ब्रोडकास्टको आम्दानीलाई उछिनेको छ ।
शीर्ष २० क्लबले औसतमा ५० करोड युरोभन्दा बढी कमाएका छन् ।
व्यवसायिक सम्झौताबाट चार अर्ब ४० करोड र म्याच डेबाट एक अर्ब ९० करोड युरो आम्दानी गरेका छन् ।
Categorized in स्पाेर्ट्स