प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान
SamacharDesk – बिराज | २०८० माघ १७, बुधबार

प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका रमेश कुमार बस्नेत दज्याएनी चिन्ह प्रदान गरिएको छ ।
नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका बस्नेतलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन पनि गरे ।
म्युजिक भिडियोको परिकल्पनाकार प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ हुन् भने रचनाकार दिल शिरिष र प्रकाश सपूत हुन् । गीतमा प्रकाश सपूत र सुदिप सागरले संगीत दिएका छन् भने प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको छ । म्युजिक भिडियोको निर्देशन सुनिल बिकले गरेका छन् ।
साथै सोही कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग १” पुस्तकको विमोचन समेत गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय