arin enterprises

सवारी दुर्घटनामा ६ महिनामा एक हजार बढिको मृत्यु

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० माघ १८, बिहिबार

देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, जथाभावी ओभरटेक लगायतका कारणले हुने त्यस्ता दुर्घटनाबाट धनजनको क्षति हुने गरेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । तीमध्ये ८५४ जना पुरूष, २०९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् ।

साथै ती दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका थिए । घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए ।

सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिदै गईरहेको अवस्थाले गर्दा दुर्घटना निम्त्याउने गर्दछ ।

‘डिजिटल प्रविधि, सिसिटिभि, ट्राफिक लाईट, मापसे चेकिङ लगायतका अवयब थप गर्ने विषयमा हाम्रो चासो छ । सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूर्णरूपमा ईमान्दार भई पूरा गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ’ नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन् ।

यसै अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार ८६५ वटा, कोशी प्रदेशमा १ हजार ६३९ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, बागमती प्रदेशमा ७ सय ६ वटा दुर्घटना भए ।

त्यस्तै गण्डकी प्रदेशमा १९५ वटा, लुम्बिनी प्रदेशमा ६०६ वटा, कर्णाली प्रदेशमा ४ ९५ वटा र सुदूरपश्चिम प्रदेशमा १ ६० वटा सवारी दुर्घटना भए ।

दुर्घटनामा ८७४ वटा ट्रक/ट्याङकर, २१३ वटा टिपर, ३५ वटा डोजर/लोडर/स्काभेटर, १ हजार ४९६ वटा बस, २९४ वटा माइक्रोबस, ४ हजार ६२५ वटा जिप/कार, ३२४ वटा ट्याक्टर, ७४१ वटा टेम्पो, ११ हजार ४० वटा मोटरसाइकल, ७ सय ९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४ सय १९ वटा सवारी साधनहरू संलग्न रहेका थिए ।

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनहरू क्षति भएका छन् ।  तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा बढि दुर्घटना काठमाडौं उपत्यकामा र सबै भन्दा कम सुदूरपश्चिम प्रदेशमा भएका थिए भने सबै भन्दा बढि मोटरसाइकल दुर्घटनामा परेका छन् ।

तीव्र गति लगायत दुर्घटनाका विविध कारणहरू छन् ।

सो अवधिमा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७५६, मापसे ६९४, ट्राफिक नियम उल्लंघन ५७४, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४६०, ओभरटेक ३५३ वटा लगायत ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता प्रमुख कारणले समेत सवारी दुर्घटना भएका छन् ।

साथै जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायाको कारण समेत दुर्घटना हुने गरेको छ ।

दुर्घटना न्यूनिकरण गर्नेबारे प्रहरी नायव महानिरीक्षक ढकाल नेपाल प्रहरीले ट्राफिक चेकिङलाई तीव्र बनाउने, सवारी नियम पालना गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्नुका साथै नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही तथा जरिवाना गर्ने गरेको बताउँछन् ।

सो अवधिमा बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५८१ वटा दुर्घटना भएको देखिन्छ ।

८ वटा दुर्घटनाको समय खुल्न सकेको छैन् । दुर्घटना बढि हुने समयमा ट्राफिक चेकिङको संख्या थप गरिने गरिएको छ ।

चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम गरिरहेको प्रहरीको दावी छ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्नुहुन्छ, ‘दुर्घटनाबाट हुने क्षति गम्भीर छ । यसको न्यूनिकरणको लागि ट्राफिक प्रहरीले बढि दुर्घटना हुने स्थानमा चेकिङ बढाउने र सचेतनामूलक चिन्हहरू राख्ने लगायतका कामहरू निरन्तर रूपमा गरिरहेको छ ।’

चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम गरिरहेको प्रहरीको दावी छ ।

यसलाई अझै न्यूनिकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन सरोकारवाला सबै निकाय जिम्मेवार हुन आवश्यक भएकोमा नेपाल प्रहरी जोड दिन्छ ।

Categorized in राष्ट्रिय