गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान
SamacharDesk | २०८० माघ २२, सोमबार

गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान भएको छ । जर्मनीमा वैज्ञानिकहरुले प्रयोगशालामा बनाएको भ्रुणलाई पोथी गैँडाको गर्भमा राख्न सफल भएका हुन् ।
यो गैँडामा गरिएको विश्वकै पहिलो सफल कृत्रिम गर्भाधान हो । उक्त भ्रुण विकास गर्नका लागि ‘नोर्दन ह्वाइट राइनो प्रजाति’ सँग सम्बन्धित ‘सदर्न ह्वाइट राइनो’ उपप्रजाति प्रयोग गरिएको बीबीसीले जनाएको छ ।
“गैँडामा पहिलो पटक भ्रुण स्थानान्तरण गर्न सक्नु भनेको ठूलो सफलता हो,” जर्मनीको लाइब्निज इन्स्टिट्यूट फर जू एन्ड वाइल्डलाइफ रिसर्चकी वैज्ञानिक सुसान होल्ट्जले भनिन् ।
जर्मनी र इटलीमा तरल नाइट्रोजनमा भण्डारण गरिएको उक्त प्रजातिका ३० वटा मात्रै भ्रुण रहेका छन् । केन्यामा रहेको कान्छो पोथी गैँडा फातूबाट निकालिएको डिम्ब र दुइवटा नोर्दन ह्वाइट भाले गैँडा मर्नु अघि संकलन गरिएका वीर्यबाट ती भ्रुणहरू विकास गरिएको हो ।
यो कृत्रिम गर्भाधान ‘बायोरेस्क्यू’ परियोजनाको एक हिस्सा हो । उक्त प्रजातिलाई बचाउन खोज्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको सञ्जालले यो परियोजाना सञ्चालन गरेको हो । वैज्ञानिकहरुले अब अर्को चरणमा ‘नोर्दन ह्वाइट’ गैँडाको भ्रुणसँग पनि यस्तै प्रक्रिया दोहो¥याउने बीबीसीले उल्लेख गरेको छ ।
“मलाई लाग्छ यो उपलब्धिसँगै हामी सोही प्रक्रियाले नोर्दन ह्वाइट राइनो जन्माउन र यो प्रजाति बचाउन सक्षम हुने छौँ” वैज्ञानिक होल्ट्जले बताइन् ।
यो प्रजाति कुनै बेला मध्य अफ्रिकामा पाइन्थ्यो तर, गैँडाको खागको मागका कारण अवैध रूपमा सिकार गर्न थालेपछि यसको अस्तित्व नै मेटिने अवस्था बनेको हो । अहिले यो नोर्दन ह्वाइट राइनो प्रजातिका दुइवटा मात्र पोथी गैँडा बाँकी छन्, नाजिन र उसकी छोरी फातू ।
सन् २०१८ मार्चको दिन नोर्दन ह्वाइट राइनोका अन्तिम भालेको मृत्यृ भएको थियो । हाल बाँकी रहेका दुई गैँडाले पनि प्रजनन गर्न असमर्थ भएकोले प्राविधिक रूपमा उक्त प्रजाति लोप भइसकेको छ ।
तर ‘बायोरेस्क्यू’ टोली यी जनावरलाई लोप हुनबाट बचाउन असम्भवप्रायः मानिएको प्रजनन प्रक्रियामा सामेल भएको छ । टोलीले सदर्न ह्वाइट राइनो प्रजातिका गैँडाहरु अझै पनि हजारौँको संख्यामा बाँकि रहेकाले यसको प्रयोग गरेर आफ्नो कामको सुरुवात गरेका छन् ।
सदर्न ह्वाइट राइनोलाई संरक्षणको सफलताको कथाका रूपमा हेरेपनि यो प्रजाति माथि पनि अवैध सिकारीको आक्रमण जारी नै छ । पहिले चिडियाखानामा राखिएका ती जनावरलाई अहिले अफ्रिकाको केन्यास्थित ओल पेजेटा प्राकृतिक संरक्षण केन्द्रमा कडा सुरक्षाका साथ राखिएको छ ।
यस परियोजनाले सफलता पाउन धेरै बर्ष लगाएर धेरै चुनौती पार गरेको छ । यो परियोजनाले दुई टन तौलका जनावरबाट डिम्ब कसरी संकलन गर्ने भन्नेदेखि प्रयोगशालामा पहिलो पटक गैँडाको भ्रुण बनाउने र तिनीहरूलाई कसरी र कहिले प्रत्यारोपण गर्ने भन्ने समेत स्थापित गर्ने प्रयास गरेको छ ।
सदर्न ह्वाइट राइनोमा आईभीएफ गर्भाधान गराउन १३ पटकसम्म प्रयास गरिएको थियो । “भ्रुरुणलाई यति ठूलो जनावरको प्रजनन अंगमा राख्नु निकै नै चुनौतीपूर्ण कुरा हो ।
गैँडाको उक्त अंग दुई मिटरभित्र हुन्छ,” होल्ट्जले बीबीसीलाई भनिन् । पहिला बेल्जियमको चिडियाखानामा रहेको पोथीको डिम्ब प्रयोग गरेर अस्ट्रियास्थित भाले गैँडाको शुक्रकीटबाट बनेको भ्रुणलाई केन्याको पोथी गैँडामा सारिएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार त्यो गैँडा गर्भवती भयो तर, गर्भावस्थाको ७०औं दिनमा उक्त गैँडाको क्लोस्ट्रिडिआको संक्रमणले मृत्यु भयो । माटोमा पाइने ब्याक्टेरियाका कारण विभिन्न जनावरहरुमा यसको संक्रमण हुन्छ र त्यो उनीहरूका लागि घातक पनि बन्न सक्छ ।
त्यस गैँडाको मृत्युले टोलीलाई गहिरो झट्का दियो । उसको गर्भमा ६.५ सेन्टिमिटरको भाले भ्रुण राम्रोसँग विकास भइरहेको र त्यो जीवितै जन्मने सम्भावना ९५ प्रतिशत रहेको परीक्षणका क्रममा पत्ता लागेको थियो ।
त्यसपछि उक्त प्रविधिले काम गरेको र गैँडामा आईभीएफमार्फत् पनि व्यावहारिक रूपमै गर्भाधारण गराउन मिल्ने सम्भावना देखिएको थियो ।
अबको चरणमा भने ‘प्राविधिक रूपमा लोप भइसकेको’ नोर्दन ह्वाइट राइनोमा पनि यस्तै प्रयास गरिने बीबीसीले लेखेको छ ।
अन्तिम दुई जीवित पोथी गैँडामध्ये कुनैले पनि उमेर र स्वास्थ्य समस्याहरूका कारणले गर्भधारण गर्न सक्दैनन् । त्यसको सट्टा भ्रुणलाई सदर्न ह्वाइट गैँडाकै गर्भमा प्रत्यारोपण गरिनेछ ।
लाइब्निज आईजेडडब्ल्यूका निर्देशक तथा बायोरेस्क्यू कन्सोर्टिअम परियोजनाका प्रमुख थोमस हिल्देब्रान्टले भने, “मलाई लाग्छ नोर्दन ह्वाइट गैँडाको भ्रुण स्थानान्तरण धेरै नै सहज छ किनभने हामीले उसको नजिकको नातेदारमा सफलता पाएका छौँ । उनीहरूको शरीरको भित्री बनावट लगभग उस्तै नै छ ।”
‘बायोरेस्क्यू’ टोलीले आगामी दिनहरुमा थप भ्रुण प्रत्यारोपण गर्ने आशा राखेको छ । केही नोर्दन ह्वाइट गैँडा अझै जीवित रहँदा नै उक्त प्रजातिका नयाँ गैँडा जन्मिउन् भन्ने वैज्ञानिकहरु चाहन्छन् ।
“हामी नोर्दन ह्वाइट गैँडाको पहिलो सन्तानलाई उनीहरूसँगै राखेर उनीहरूले गर्ने सामाजिक सञ्चार, सामाजिक व्यवहारलाई लोप हुनबाट जोगाउन चाहन्छौँ । त्यो सन्तानले अन्तिम दुइवटा गैँडाबाट उनीहरूको भाषा सिक्न सकोस् र कसरी व्यवहार गर्ने भनेर पनि सिकोस् भन्ने हामी चाहन्छौँ’ प्राध्यापक हिल्देब्रान्टले भने ।
केही वन्यजन्तु विज्ञहरू भने लगभग लोप भइसकेको प्रजातिका निम्ति धेरै रकम र स्रोत खर्चिनुभन्दा बचाउन सकिने प्रजातिका लागि त्यो स्रोत उपयोग गर्न सकिने बताउँछन् ।
Categorized in अन्तर्राष्ट्रिय