arin enterprises

बेलायती राजा चार्ल्सलाई क्यान्सर

SamacharDesk | २०८० माघ २३, मंगलबार

बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ।

राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ।

७५ वर्षीय चार्ल्सलाई सोमबारदिख चिकित्सकको निगरानीमा राखिएको छ। आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँ पूर्ण रुपमा ठीक भएर सार्वजनिक जिम्मेवारीमा छिट्टै फर्किनेमा विश्वस्त हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने जनाएका छन् ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन्।

आइतवार उनलाई सान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए।

राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् । वेल्सका राजकुमार  विलियम र अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् ।

ह्यारी केही दिनमै पितालाई भेट्न आउने तरखरमा रहेको र विलियम पिता चार्ल्ससँग नियमित सम्पर्कमै रहेको बीबीसीले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय