सजिललाई न्याय दिन माग गर्दै ललितपुरमा जनप्रदर्शन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २३, मंगलबार

पुल्चोकस्थित स्क्वाएर होटलको स्वीमिङ पुलमा बेहोस भई हालसम्म पनि कोमामा रहेका सजिलमान शाक्यलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाइएको छ ।
सजिल मान शाक्यको लागि संघर्ष समिति ललितपुरले आज पाटनमा मौन जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र लिँदै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले यस सम्वन्धमा आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।
यस अघि मुखमा कालो पट्टि बाँधि मंगलबजारबाट सुरू गरिएकाे मौन जुलुस टंगल हुँदै कुमारीपाटि, मानभवन भई सिडिओ कार्यालय पुगेको थियो ।
सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाइ सकेपछि फेरी जुलुस जावलाखेल हुँदै पुल्चोकस्थित स्क्वाएर होटलमा पुगेको थियो ।
गत भदौ १५ गते मानभवन निवासी शाक्य होटल स्क्वाएरमा स्विमिङ गर्दै गर्दा एक्कासी बेहोस भएका थिए भने उनी हालसम्म उनी कोमामा छन् ।
शाक्यको परिवारले स्वीमिङ पुलमा करेन्ट लागेर यो घटना हुन पुगेको दावी गर्दै आएका छन् । होटलले स्विमिङ पुल नजिकै जडान गरेको बत्तीको पोलमा करेन्ट सर्ट हुँदा पनि मर्मत नगरी लापरबाही गरेको शाक्य परिवारको दाबी छ ।
घटना पछि होटलकै लापरवाहीका कारण घटना हुन पुगेका भन्दै शाक्यको परीवारले होटल विरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्न खोजेका थिए । तर त्यो बेला प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।
त्यसपछि सरकारी वकिल हुँदै प्रहरीमा पुगेको जाहेरी घटना भएको साढे चार महिनापछि मात्र दर्ता भएको थियो । यो घटना संचारमाध्यममा भाइरल भएपछि र व्यापक जनदबाव पछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको शाक्यको परिवार बताउँछन् ।
“यो प्रदर्शन मेरो श्रीमानको न्यायको लागि मात्र होइन अरु कसैसँग पनि यो घटना नदोहोरियोस् भनेर गरेका हौं ’ सजिलकी श्रीमती रजिना मानन्धर भन्छिन् । ‘यसअघि पनि ब्यापक जनदवावपछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको थियो । दोषिलाई कारवाही गर्नको लागि पनि जनदबाव दिइ नै रहनुपर्ने हो ?’
आज गरिएको विरोध प्रदर्शनमा जातिय समाज, उद्योग वाणिज्य संघ, रोटरी क्लबको साथै विभिन्न संस्थासंस्थाहरुले ऐक्यवद्धता जनाएका थिए ।
प्रदर्शनमा सहभागी ताम्रकार समाजको साथै यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकारले यस्तो घटना फेरी नहोस, पिदित पक्षले न्याय पाउन् र दोषीलाई कारवाही होस् भनि जनदवाव दिन सडकमा उत्रिएको बताए ।
‘यो परिस्थितीमा सजिलको परिवार एक्लै छैन, उहाँहरुसँग हामी उभिएका छौं । पिडितले न्यायको साथमा क्षतिपुर्ति नपाएसम्म आन्दोलन रोकिने छैन’ ताम्रकारले भने ।
पुल्चोक पुगेका प्रदर्शनकारीहरुले होटल स्क्वाएरमा तालाबन्दी गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए ।
सजिलको परिवार र केही प्रदर्शनकारीले भने माग सम्वोधन नभए र दोषीलाई कारवाही नभए अर्को चरणमा मात्र तालाबन्दीको आन्दोलन गर्ने भनेका थिए ।
‘आज त होटलमा ताला लगाउँछु भन्नेहरुलाई हामीले रोक्यौं । यदि दोषीलाई कारवाही नभए भोलिका दिनमा हामी आफैंं तालाबन्दी गर्न आउनेछौं’ बौद्ध विहार संघका वरिष्ठ उपाध्यक्ष करुणाकरारत्न बज्राचार्यको भनाई हो ।
त्यस्तै सजिलका भाई विवेश शाक्यले आफुलाई पाँच महिना आलटाल गर्दा, झुलाउँदा पनि शान्तिपूर्ण प्रदर्शनको पक्षमा मात्र रहेकोले होटेल संचालकहरुले आत्मालोचना गरी घटनाको जिम्मेवारी लिन माग गरे ।
‘हामीले होटल बन्द गर नै भनेका छैनौँ । हाम्रो माग भनेको, मात्र होटलले घटनाको जिम्मेवारी लिनुपर्यो’ सजिलका भाई विवेश शाक्यले भने ।
त्यसैगरी आन्दोलनमा सामेल अभियानकर्मी राजन खड्गीले होटेललाई सदाको लागि ताला लगाउन खोजेको नभई सांकेतिक रुपमा जनदवाव दिएको बताए ।
अहिले प्रहरीले स्क्वाएर होटेलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरीसकेको छ । होटलका अर्का सञ्चालक रोमी अर्यालले भने प्रहरीमा आत्मसमर्पण गरिसकेको सजिलका पिता पुष्करमान शाक्य बताउँछन् ।
घटना हुँदा शाक्य छोरीसहित होटेलको स्विमिङ पुलमा स्विमिङ गरिरहेका थिए । स्वीमिङ पुलमा करेन्ट सर्ट हुँदा छोरी चस्मा मिलाउन भन्दै स्विमिङ पुलबाट बाहिर निस्केको समय पर्दा छोरी बचेको परिवारले बताएको छ ।
स्वीमिङ पुलमा सजिल काम्दै गरेको देखेपछि आफुले तान्न खोज्दा आफुलाई समेत झट्का लागेको सजिलकी श्रीमती रजिना मानन्धर बताउँछिन् ।
त्यसपछि स्वीमिङ पुलमै बेहोस भएका शाक्यलाई उनकी श्रीमती र होटलका कर्मचारीहरु मिलेर उपचारको लागि अस्पताल लगिएको थियो । त्यसपछि सजिल हालसम्म पनि कोमामै छन् ।
Categorized in राष्ट्रिय