आलुभित्र लुकाएर ल्याएको लागूऔषध पक्राउ
SamacharDesk | २०८० माघ २३, मंगलबार

तस्करहरुले आलुभित्र ब्राउन सुगर लुकाएर ल्याउने क्रममा जमुनाहा नाकाबाट सुरक्षाकर्मीहरुले दुई जनालाई पक्राउ गरेका छन् ।
कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न ठाउँमा लुकाएर लागूऔषध भित्र्याउँदै आएका तस्करले पछिल्लो पटक लागूऔषध ब्राउन सुगरलाई आलुभित्र लुकाएर भित्र्याउन खोज्दा प्रहरीले पक्राउ गरेका हुन् ।
नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले नाकाबाट जिल्ला कञ्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तीर्थराज पन्थ र जिल्ला बहराइच रुपैडिहा बस्ने २५ वर्षीय अनवर हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतीय बजार रुपैडिहाबाट मोटरसाइकलमा सवार नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आलुभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतबाट भित्र्याइएको लागूऔषधलाई बाँकेको नेपालगन्ज र कोहलपुर मात्र नभई सुर्खेत, दाङ, सल्यान र कालिकोट जुम्लासम्म पुर्योइने गरिएको प्रहरीले जनाएको छ।
Categorized in अपराध