काठमाडौंमा जनजाती चलचित्र महोत्सव शुरु
SamacharDesk – समाचारडेस्क – कला ब्युरो | २०७५ आषाढ १५, शुक्रबार

तिन दिने आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंको पर्यटन बोर्डमा शुक्रबारबाट शुरु भएको छ ।
आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन गरेको हो । महोत्सवको उद्घाटन उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रम उद्घाटनको समयमा किराँती समुदायको ढोल र झ्याम्टा बजाईंदा माहौलमा रौनक थपिएको थियो ।
कार्यक्रममा उर्जामन्त्री पुनले संचारको यूगमा चलचित्र पनि सशक्त माध्यम बन्दै गएको भन्दै आदिवासी जनजाति चलचित्रकर्मीले पनि आफ्नो शक्तिको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो । संस्कृतिका धनी आदिवासी जनजाति समुदायले आफुलाई कुनै पनि किसिमले कमजोर सोच्नुनपर्नेमा उर्जामन्त्री पुनले जोड दिनुभयो ।
जनजाति समुदायको उचित मागको सम्बोधनमा राज्यले कुनै कन्जुस्याईं नगर्ने उहाँको भनाई थियो । आदिवासी जनजाति चलचित्र क्षेत्रलाई व्यवस्थित गर्नका लागी पनि आफुले सक्दो कोशिश गर्ने प्रतिवद्धता पुनले व्यक्त गर्नुभयो ।
गृह मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा लगायतले आदिवासी जनजाति चलचित्र क्षेत्रको विकासको लागी आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगको तयार रहेको बताउनुभयो ।
त्यसैगरी संस्कृतिविद् सोम धिमाल, नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर, सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष प्रतिमाया पुन, महासंघमा आवद्ध जातीय चलचित्रकर्मी संस्थाहरुको प्रतिनिधित्व गर्दै युवराज मास्की मगरले आ–आफ्नो विचार राखेका थिए ।
उद्घाटन कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरीएको थियो ।
महोत्सवको आज पहिलो दिन विभिन्न जनजाति समुदाय सम्वद्ध ४ वटा चलचित्र प्रदर्शन गरीयो । आज पहिलो प्रदर्शनको रुपमा नेवार समुदाय सम्वद्ध वृत्तचित्र कमलपोखरी देखाइएको थियो । काठमाडौंको ठमेलमा एक व्यापारीक भवन बनाउन ऐतिहासिक कमलपोखरी मासिदिएको विषयमा केन्द्रीत उक्त वृत्तचित्र संजोग लाफा मगरले निर्माण गनुभएको हो ।
त्यसैगरी अन्य चलचित्रमा मगर समुदायको रैयाँ, थारु समुदायको मन्दरा, थारु समुदायकै टुटल जिन्दगी पनि आज प्रदर्शन गरीयो । तिन दिनको दौरानमा जम्मा १४ वटा चलचित्र प्रदर्शन गरीनेछ ।
महोत्सवमा जनजातिको संस्कृतिक झल्किने वस्तुहरु प्रदर्शनीमा राखिएका छन् । त्यसैगरी भेषभुषा र परीकारको विक्रिको स्टल पनि राखिएको छ ।
आइतबार समापन समारोह गर्दै एक चलचित्रलाई दर्शकको भोटको आधारमा पब्लिक च्वाइस अवार्ड पनि दिइनेछ ।
Categorized in पेजथ्री
