तीन दिने एकदिवसीय सिरिजमा नेपालको "क्लिन स्वीप"
SamacharDesk | २०८० माघ २९, सोमबार

नेपाल र क्यानडाबीच भएको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ ।
अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको हो ।
तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
जितका लागि क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३।३ ओभरमा एक विकेटको क्षतिमा दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपालको जितका लागि अनिलले ११६ बल खेल्दै शतक पूरा गरेका हुन् भने भीमले १२७ बलमा सय रन हानेका हुन्।
अनिलले १२ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाए भने भीमले ११ चौका र १ छक्का हाने। नेपालका अर्का ओपनर कुशल भुर्तेल भने १४ बलमा १३ रन बनाउँदै आउट भए।
भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे। नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेल चार विकेटले विजयी भएको थियो ।
Categorized in स्पाेर्ट्स