arin enterprises

शिशु चोरी गर्ने महिलामाथि अनुसन्धान जारी

SamacharDesk | २०८० फाल्गुण १२, शनिबार

पटकपटक गर्भपतन गर्नुपरेपछि विक्षिप्त भएकी महिलाले शीशु चोरी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

हिजो शुक्रबार थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट दिउँसो काभ्रेको चौरी देउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गरेकी हुन् ।

शुक्रबार मध्याह्न १२ बजेतिर श्रेष्ठकी शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।

त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शिशु चोरी गर्ने सिंह, उनकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् ।

तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ ।

यता उच्च रक्तश्राब भएपछि शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको बताइएको छ ।

चोरी गर्ने महिलालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।  सिंहले गरेको अपराधको प्रकृति अपहरणसँग मिल्ने देखिन्छ ।

यदि उनीमाथि अपहरण सम्बन्धी कसुरमा मुद्दा चल्यो र दोषी ठहरेमा ३ देखि १० वर्षसम्मको कैद सजाय हुने जनाइएको छ ।

Categorized in अपराध