होली पर्वको चीर ठड्याइयो
SamacharDesk – समाचारडेस्क | २०८० चैत्र ४, आइतबार

हरे वर्षको फाल्गुन शुक्ल अष्टमीका दिन आज चीर उठाएपछि देशभर होली पर्व सुरु भएकोे छ ।
आज विहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा केन्द्रीय मानन्धर संघको धालासिक्व मानन्धर सनाःगु खलःको संयोजनमा बसन्तपुरको गद्दी बैठक अगाडि चीर ठड्याइयो ।
रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । सो अवसरमा चीर ठड्याएर एकअर्कालाई अबिर दलेर फागू पर्व सुरु भएको जनाउ दिएका थिए ।
चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र तराईका विभिन्न जिल्लामा १२ गते होली पर्व मनाइँदैछ ।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।
आजै पशुपतिनाथ, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरलगायतका स्थानमा पनि रंगीचंगी ध्वजा पताका झुण्ड्याएर फागू पर्व सुरु भएको जनाउ दिने चलन छ ।
