arin enterprises

देवपाटनमा दुदु च्याँय् च्याँय् जात्रा आज हुँदै

SamacharDesk – बिराज | २०८० चैत्र १९, सोमबार

काठमाडौंको पाशुपत क्षेत्र ग्वल अर्थात देवपाटनमा ‘दुदु च्याँय् च्याँय्’ जात्रा आज सोमबार हुँदैछ ।

चैत्र कृष्ण अष्टमी शितलाष्टमीका दिन गरिने यो जात्रा आज मनाउन लागिएको हो । आज चैत्र कृष्ण सप्तमी तिथि भएपनि साँझ ४ः४७ बजेपछि अष्टमी तिथि लाग्ने भएकोले आजै जात्रा मनाउन लागिएको हो ।

आज साँझ पशुपतिको लगंलाछिबाट ‘दुदु च्याँय् च्याँय् जात्रा सुरु हुनेछ । पशुपतिनाथको गर्भगृहमा रहेको सानो शिवलिंग र बत्सलेश्वरीसहित रहेको सानो खटको जात्रा गर्ने गरिन्छ ।

लगंलाछीबाट सुरु हुने जात्राले कान्तिपुर नगरको विभिन्न क्षेत्रहरु परिक्रमा गर्ने गर्दछ । यस क्रममा भुवनेश्वरी गुठीयारले भुवनेश्वरी मातृकालाई तान्त्रिक विधि अनुसार पूजा गरी यो निमन्त्रणा यात्रा सुरु गर्ने परम्परा रहेको छ ।

भुवनेश्वरीको पूजा सम्पन्न भएपछि भुवनेश्वरी गुठीबाट फलफूल रोटीसमेत राखी तयार पारिएको चौरासी व्यञ्जन आराध्यदेव पशुपति महादेवलाई चढाइन्छ ।

त्यसपछि पिचा नामक बाँसको चोयाबाट बनाइएको भाँडो मा भोग राखी भगवानलाई चढाइसकेपछि  वत्सलेश्वरीको दुदु च्याँय् च्याँय् निमन्त्रणा यात्रा सुरु हुन्छ ।

दुदु च्याँय् च्याँय् जात्रा पशुपति मन्दिर प्रदक्षिणा गरी पशुपति प्राङ्गण लगंलाछी टोल, भुवनेश्वरी, भकुंटोल, पशुपति बालकुमारी मन्दिरलाई दायाँ पारी प्रदक्षिणा गरि इटापाखा, जयबागेश्वरीलाई प्रदक्षिणा गरी नवाटोल ताम्रेश्वर महादेव, भण्डारेश्वर महादेव, चलँपाटोल (सानो गौचरण), ज्ञानेश्वर महादेव, नक्शालभगवती, नक्शाल चारढुङ्गा, नागपोखरी, हात्तीसार लालदरवार हुँदै तीनधारा पाठशालाबाट जमल पुर्‍याइन्छ ।

त्यसपछि कमलाछिस्थित झङ्गःथकुहितिको पूर्वको पाटी अगाडि नरदेवीको न्यतमरु अजिमा (श्वेतकाली) को कुमारी, भैरवी, वाराही आदिको साथै नायःखिं, धिमेय् बाजा, आदि सहितको टोलीले स्वागत पूजा गरी शहर भित्र्याइन्छ ।

स्वागत पूजा सम्पन्न भइसकेर कमलाछिबाट असनमा अन्नपूर्ण मन्दिर.परिक्रमा गरी बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, चिकंमुगल, जैशीदेगल, लगन, यंगालबाट मजिपाट, चिकंमुगल सिंहसतल पुगेर मरुसतल परिक्रमा गरी प्याफल, यटखा हुँदै नरदेवी पुगेर न्यतमरु अजिमाबाट गरिने पूजा सम्पन्न गरीन्छ ।

यस क्रममा स्थानीय भक्तजनहरुको पूजा समेत लिने गरीन्छ ।

नरदेवीमा पूजा सम्पन्न भएसँगै त्यंगल, न्ह्यौखा, न्हायकंटोल, असन हुँदै सुरुकै बाटो हुँदै देवपाटन पुगेर पशुपतिनाथाको परिक्रमा गरी वत्सलेश्वरी पीठ पुगेर यात्रा सम्पन्न हुन्छ ।

कान्तिपुर नगरभित्रका अजिमाहरुको जात्रा हुने पाहाँचःर्‍हे जात्रा आउन सात दिन अघि पशुपति क्षेत्रमा दुदु च्याँय् च्याँय् जात्रा मनाइन्छ ।

शितलाष्टमीको आठौं दिनमा बत्सलेश्वरीको जात्रा हुन्छ ।

देउपाटनमा विराजमान वत्सलेश्वरीलाई कान्तिपुर नगर भित्र रहेका अष्टमातृकाहरुको आमा मानिन्छ ।

वत्सलेश्वरी अन्य अष्टमातृका अजिमाहरुको जेष्ठ मातृशक्ति भएकीले वत्सला अजिमाको जात्रा सुरु भएपछि मात्र कान्तिपुर नगर र उपत्यकाका अन्य अष्टमातृका अजिमाहरुको जात्रा गर्ने प्रचलन रहेको छ ।

त्यसैले पाहाँचःर्‍हेको अघि शितलाष्टमीका दिन वत्सलेश्वरीले छोरीहरूलाई आठ दिन पछि जात्रा हेर्न आउन निमन्त्रणा दिन जाने भनी देउपाटनदेखि बाजागाजा बजाउँदै काठमाडौंमा जाने गरिएको जनविश्वास छ ।

दुदु च्याँय् च्याँय् जात्रालाई पाहाँचःर्‍हेको लागि आवश्यक जोरजाम गर भनी सूचना दिने जात्राको रूपमा पनि लिइने गरिन्छ ।

Categorized in संस्कृति
SKIP THIS tihar2082