एमाले फर्किएका ललितपुरे समाजवादीहरु जिल्ला कमिटीबाटै क्लिन स्वीप
SamacharDesk – समाचारडेस्क पाेलिटिक्स ब्यूराे | २०८१ बैशाख १, शनिबार

चैत्र २३ गतेबाट नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको जिल्ला अधिवेशन सुरु भयो । नेतृत्व चयन सर्वसम्मत गर्नका लागि अधिकतम प्रयास भयो तर सहमति हुन नसके पछि निर्वाचनको विकल्प रहेन ।
अध्यक्षमा यस अघि पनि नेतृत्व सम्हालिरहेका पुरुषोत्तम आचार्यले बाजी मारे ।
अध्यक्ष पदको प्रतिष्पर्धामा चार जनाको दावी रहेको थियो । अध्यक्ष पदका प्रतिष्पर्धीमध्ये चेतनाथ संजेलले १५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले मात्र ९ मत पाए भने आचार्य २२९ मतसहित अध्यक्षमा विजयी भएका थिए ।
अधिवेशनमा ४७८ प्रतिनिधि रहेकामा ४७३ मत खसेको थियो । यी कुराहरुसम्म त सामान्यै थियो । चुनावमा मत खस्नु र कोही पराजित र कोही विजयी हुनुमा केही नौलो रहेन ।
तर यो, निर्वाचनमा रोचक कुरा त के रहयो भने एमालेबाट बिद्रोह गरेर माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) खडा गर्दै फेरी एक वर्ष अघि एमालेमै फर्किएकामध्ये सबै जिल्ला निर्वाचनबाटै पाखा लागे ।
मात्र एक जना सदस्यमा निर्विरोध निर्वाचित भए । बाँकीलाई प्रतिनिधिले पत्याएनन् नै भन्नुपर्ला ।
त्यो पनि तण्डुकारले अध्यक्ष आचार्यसँगको निकटताका कारण निर्विरोध निर्वाचित हुने केही तारतम्य मिलाउन सफल भएको एक प्रतिनिधिले बताए
नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला कमिटीका सचिवसमेत रहेका सुदर्शन मिश्र एमाले फर्किएर ललितपुर जिल्लामा पुनः सोही पदका लागि उम्मेदवारी दिएका थिए । उनी राम राउतसँग पराजित भए ।
सदस्यका लागि प्रतिस्पर्धामा रहेका शालिकराम मिश्र, राजेन्द्र थापा मगर, ऋषिराज भेटवाल, माधव बञ्जरा, लक्ष्मण रोकालगायतका पूर्व समाजवादीहरुले जिल्ला कमिटीमा ठाउँसमेत पाएनन् ।
पूर्व समाजवादीबाट नविन तण्डुकार एक जना सदस्यमा निर्विरोध निर्वाचित भए । त्यो पनि तण्डुकारले अध्यक्ष आचार्यसँगको निकटताका कारण निर्विरोध निर्वाचित हुने केही तारतम्य मिलाउन सफल भएको एक प्रतिनिधिले बताए ।
निर्वाचनको यस्तो नतिजासँगै उचित स्थान र जिम्मेवारी दिने वाचासहित एकीकृत समाजवादी छाडेर एमाले फर्किएकाहरुलार्ई चोक्टा खान गएको, झोलमा डुब्नु परेको’ उखानसँग मेल खाएको चर्चा हुने थालेको छ ।
एमाले ललितपुर जिल्ला कमिटीको अधिवेशनले नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले फर्किन तयारीमा बसेका कार्यकर्ताहरु झस्किएका छन् ।
पार्टी फर्काउन अनेक आश्वासन दिएर ल्याइएकाहरुलाई आवश्यकतामा भित्तामा पुर्याइने गरेको एमाले फर्किएका एक पूर्व समाजवादी कार्यकताले बताए । पार्टी नेतृत्वको नियती अनुरुप नै आफूहरु पराजित भएको पूर्व समाजवादीहरुको बुझाइ देखिएको छ ।
अघिल्लो वर्ष चैत्रमै नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच महासचिव शंकर पोखरेलले ललितपुरको एकीकृत समाजवादीको जम्बो टोली एमाले प्रवेश गराएका थिए ।
‘नयाँ पार्टी गठन गरिसकेको अवस्थामा पुनः सोही पार्टीमा फर्किन औचित्य पुष्टि गर्न सक्नुपथ्र्यो, नयाँ पार्टी गठनको औचित्य र नयाँ गपार्टी छाडेर एमाले फर्किनुपर्ने दुवै कारण अस्पष्ट हुँदा एमालेले उनीहरुलाई नपत्याएको हो’ एमालेका एक नेताले बताए ।
अध्यक्षका प्रत्यासी दिनेश कार्कीले पार्टीमा रहेको आर्थिक अनियमितताको विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका थिए । स्थानीय तहको निर्वाचनका बखत टिकटमा भएको आर्थिक चलखेलकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो ।
अध्यक्षका अर्का प्रत्यासी चेतनाथ संजेलले पार्टीमा फर्किएका कार्यकर्ताहरुको मनोबल गिराउनु उचित नरहेको बताए । आफ्नो उम्मेदवारी सबैलाई समेट्नुको लागि रहेको पनि संजेलको भनाइ थियो ।
आचार्यले सबै उम्मेदवारलाई आफ्नो प्यानलको भन्दै उनीहरुलाई नै बाइपास गरेका कारण धेरै उम्मेदवार उनीसँग रुष्ट रहेका छन् ।
ललितपुरमा बलियो रहेको एमाले आफ्नै कार्यकालमा कम्जोर बन्यो, अब पुनः एक पटक नेतृत्व सम्हालेर ललितपुरमा बलियो एमाले बनाउन चाहेको भन्दै आचार्यले पुनः अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
Categorized in राजनीति