खराब बाटोको कारण अष्टमातृका देवगणका गणेश घाईते
SamacharDesk – समाचारः इन डेफ्ट नेपाल | २०८३ कार्तिक ३, सोमबार
ललितपुरमा निकालिने अष्टमातृका गणको नाच ‘गंप्याखं’ प्रदर्शनको क्रममा मातृकागणका श्री गणेश देवका रुपमा रहेका दिपक बज्राचार्यको खुट्टामा चोट लागेको छ ।
नाच प्रदर्शनको क्रममा गणेश बनेका बज्राचार्यको खुट्टा मर्किएको हो । उनको खुट्टाको एक्स–रे रिपोर्टपछि चिकित्सकले ४–५ दिन आराम गर्नुपर्ने सल्लाह दिएको बताइएको छ ।
सिद्धि नरसिंह मल्लको छोरा श्रीनिवास मल्लको पालामा सुरु गरिएको गंप्याखंका देवगणहरु परम्परागत पोशाक र मुकुण्डो धारण गरी हातमा खड्ग बोकेर परम्परागत बाजागाजासहित पाटनका बस्ती परिक्रमा गर्ने गरिन्छ ।
यो नाच आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनाको दिनबाट सुरु हुने गर्दछ ।
यस वर्ष नाच प्रदर्शन गर्ने क्रममा देवगणहरु देवताको वस्त्र, आभूषण र मुकुण्डोको साथमा नाङ्गो खुट्टा नाच प्रदर्शन गर्ने क्रममा बज्राचार्यको खुट्टामा चोट लाग्न पुगेको हो ।
यो घटना पछि बाटोमा रहेका खाल्डाखुल्डी तथा अव्यवस्थित सडकका कारण नृत्य प्रदर्शन गर्न कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको गुनासो बढेको छ ।
‘हाम्रो पुस्तौँदेखिको धार्मिक आस्था, मौलिक पहिचान र अमूल्य सांस्कृतिक सम्पदालाई जोगाउन कलाकारहरू समर्पित भइरहेका छन् । तर, संस्कृति संरक्षणमा योगदान पुर्याउने कलाकारहरूको सुरक्षा र स्वास्थ्यप्रति सम्बन्धित निकायको ध्यान जानु पर्दैन र?’ उनै देवगण बज्राचार्यले बताए ।
बज्राचार्यले थपे “हाम्रो संस्कृति हाम्रो पहिचान हो। संस्कृति जोगाउने कलाकारहरूको सुरक्षा गर्नु पनि हामी सबैको साझा दायित्व हो ।’
सम्बन्धित निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सबैको यस विषयमा आवश्यक पहल गर्न बज्राचार्यले आग्रह गरे ।
बाटोको उचित व्यवस्थापन गरी कलाकारहरूलाई सुरक्षित रूपमा आफ्नो धार्मिक एवं सांस्कृतिक परम्परा निर्वाह गर्ने वातावरण मिलाइदिन उनले माग गरेका छन् ।
Categorized in संस्कृति




