arin enterprises

आजको कुल संक्रमित संख्या ३८० कि ३८१ प्रवक्ताज्यू ?

SamacharDesk – विकाश | २०७७ आषाढ २, मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण विवरणको तथ्याङ्कमा गलती गर्न छोडेको छैन । हरेक दिन जसो तथ्याङ्क अद्यावधिक गर्दा कुनै न कुनै गलती मन्त्रालयबाट हुने गरेको पाइएको छ ।

आज फेरी पनि कुल संक्रमित संख्या अद्यावधिक गर्दा प्रवक्ता डा. जागेश्वर गौतमले गलती गरेका छन् । आजको उनको विवरण सुनेपछि थप भएका नयाँ संक्रमितको संख्यामै अन्यौलको स्थिती बनेको छ ।

आज प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कुन कुन जिल्लामा कति महिला वा पुरुष संक्रमित भेटिए भन्ने तथ्याङ्क त प्रस्तुत गरे । तर आजको कुल संक्रमित संख्या र कुल महिला अनि पुरुषको संख्या भनेनन् । उनले मात्र आजसम्मको कुल संक्रमित संख्या मात्र भने ।

हिजोको तथ्याङ्क अनुसार आज जम्मा ३ सय ८० संक्रमित थप भएको पाइयो भने त्यसमा ३ सय ५२ पुरुष अनि २८ जना महिला रहेको देखियो ।

तर गौतमले प्रस्तुत गरेको विवरण अनुसार भने यो संख्या मिल्न आउँदैन ।

गौतमले प्रस्तुत गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणको विवरण अनुसार उक्त प्रयोगशालामा गोरखामा एक महिला ९ पुरुष, नवलपरासी पूर्वमा २, बागलुङमा एक, तनहुँमा २, कास्कीमा ३ र स्याङ्जामा ४ पुरुषमा संक्रमण पुष्टि भयो । 

यो हिसाबले पोखरा प्रयोगशालाको परिक्षणमा एक महिलासँगै २२ जनामा संक्रमण देखियो । तर गौतमले उक्त प्रयोगशालाको कुल संक्रमित संख्या २१ भने ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पुष्टि भएको कुल संक्रमित संख्या २१ मान्ने हो भने आजको कुल संक्रमित संख्या ३ सय ८० हुनेछ । तर २२ भए ३ सय ८१ हुनेछ ।

एउटा संख्यामा गलती हुँदा यहाँ कुल संक्रमित संख्यामा नै अन्यौलता पैदा भएको छ ।

तथ्याङ्कमा निरन्तर गलती भइरहँदा सर्वसाधारणमा अन्यौलता बढाइदिएको छ भने संक्रमितको जिल्ला मात्र भन्ने गरिँदा पनि समाजमा त्रासलाई बढावा दिने काम भइरहेको छ ।

विगतमा पनि यसरी नै संक्रमितको ठेगानाको पूर्ण विवरण भन्ने नगरिएकोमा यसले अन्यौलता बढाएको भन्दै राष्ट्रिय सूचना आयोगले ठेगानाको विस्तृत जानकारी दिन निर्देशन दिएको थियो । 

त्यसपछि पूर्ण विवरण दिने गरिएकोमा मन्त्रालयमा प्रवक्ता फेरीएर डा. जागेश्वर गौतम आएपछि फेरी पनि अपूर्ण विवरण दिने गरिएको छ ।

 

यो पनि पढ्नुहोला – 

स्वास्थ्य मन्त्रालयको अपडेटले जन्माएको अन्यौल परिस्थिती

 किन निरन्तर गलती दोहोर्याउँदैछ स्वास्थ्य मन्त्रालयले

Categorized in समाज