arin enterprises

किन निरन्तर गलती दोहोर्याउँदैछ स्वास्थ्य मन्त्रालयले

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ ३१, शनिबार

संख्या, यसले ठुलो महत्व राख्छ । वर्तमान परिवेशमा सारा संसार यहि संख्यामै अल्झिएको छ ।

आज कति संक्रमित थपिए ? कतिको मृत्यु भयो ? कति जना निको भए ? संक्रमणको बढ्दो वा घट्दो दर, निको हुनेको दर, मृत्यु दर । सबैको ध्यान यसैमा केन्द्रित छ ।

एक संख्या पनि तलमाथि हुनु अहिलेको परिस्थितीमा गम्भीर गलती हुनेछ । यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पछिल्लो समय संख्यामा निरन्तर गलती दोहोर्याउँदै आएको छ ।

अचेल नेपालमा कोरोना संक्रमण सम्बन्धि जानकारी दिने काम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गर्दै आएका छन् । 

आज पनि उनले नेपालको विवरण अद्यावधिक गरे । आजको उनको विवरणमा शुरुवात देखि नै गलती गर्दै गए ।

आज थप भएका नयाँ संक्रमित संख्या संख्या २ सय ७३ भनियो । यसमा पुरुषको संख्या २ सय ४७ र महिलाको संख्या ३६ भनियो । 

२ सय ४७ र ३६ को योगफल २ सय ७३ हुन्न भन्ने कुरा दुई कक्षाको विद्यार्थीले पनि भन्नेछ । यसको योगफल त २ सय ८३ हुनेछ ।

आज फेरी पनि प्रश्नको यो उठ्यो कि नेपालको आजको कुल संक्रमित संख्या २ सय ७३ हो कि २ सय ८३ ?

अब फेरी अन्य त्रुटिहरुतिर ध्यान दिउँ । 

प्रवक्ता डा. गौतमले संक्रमित पुरुषको संख्या २ सय ४७ भनिरहँदा प्रस्तुत गरिएको जिल्लागत विवरण अनुसार पुरुषको संख्यालाई  जोड्ने हो भने २ सय ४६ मात्र देखिन्छ ।

फेरी पनि प्रश्न उठ्यो कुल संक्रमित पुरुष २ सय ४६ हो अथवा २ सय ४७ ?

फेरी कुल संक्रमित महिलाको संख्या ३६ भनिएकोमा जिल्लागत विवरण अनुसारको योगफल २६ हुन आउँछ ।

यहाँनेर हामीले यो अनुमान लगाउन सक्यौं कि शुरुमा महिलाको संख्या २६ भन्नुपर्नेमा डा. गौतमले ३६ भन्नपुगे ।

त्रुटि यतिमै सकिएन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गुल्मीमा गरिएको परिक्षणको विवरणमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको भनियो । 

तर उक्त प्रयोगशालामा गरिएको विभिन्न जिल्लाको परिक्षणको संख्याहरु जोडि हेर्ने हो भने २७ मात्र देखिन्छ ।

कुल संक्रमित पुरुषको संख्या २ सय ४७ भनिएको तर विवरण अनुसार २ सय ४६ मात्र देखिएको र गुल्मीको परिक्षणको संख्या २८ भनिएको तर विवरण अनुसार २७ मात्र देखिएको हिसाबले यहाँ पनि हामीले अनुमान लगाउन सक्छौं कि यहाँ कुनै एक पुरुषको विवरण छुटेको हुनुपर्छ ।

तर यो हाम्रो अनुमान हो, ठोकुवा नै गर्न त सक्दैनौं ।

देशैभरको सम्पूर्ण विवरण जम्मा हुने र यो सम्पूर्ण विवरणको लागि आधिकारीक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कहाँनेर त्रुटि गरे, त्यो त मन्त्रालयलाई नै थाहा होला ।

संक्रमितको ठेगानाको सम्पूर्ण विवरण खुलस्त गर्नुपर्ने राष्ट्रिय सूचना आयोगको निर्देशनलाई लत्याएर जिल्लामात्र भन्ने गरिएको छ ।

डिस्चार्ज हुने पुरुष र महिलाको संख्या मात्र भन्ने र कुनै पनि किसिमको ठेगाना नभन्ने लगायतका कामलाई पनि हालसम्म सच्याइएको छैन ।

अधुरो किसिमका सूचना दिएर त्यसमा पनि तथ्याङ्कमा निरन्तर गलती गर्दै आम सर्वसाधारणलाई अन्यौलमा पार्ने काम स्वास्थ्य मन्त्रालयले किन गर्दैछ भनेर प्रश्न अहिले उठिरहेको छ ।

यो पनि पढ्नुहोला – स्वास्थ्य मन्त्रालयको अपडेटले जन्माएको अन्यौल परिस्थिती

Categorized in बिचार