अब ट्रायलमा आफ्नै सवारी साधन प्रयोेग गर्ने पाइने
SamacharDesk – Aakash Rajopadhyaya | २०८० माघ ९, मंगलबार

राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने सबै आवेदकलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ ।
आइतबार एक पत्र लेख्दै केन्द्रले सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यातायात कार्यालयले तोकेको प्रशिक्षण केन्द्रमा ट्रायल दिन जाँदा परीक्षार्थीहरुसँग चर्को शुल्क असुल्ने गरेको गुनासो आएको सतर्कता केन्द्रको भनाइ छ ।
यसले सेवाग्राहीलाई असुविधा भएको भन्दै केन्द्रले परीक्षार्थीहरुलाई अबवाट आफ्नै सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
‘प्रशीक्षण केन्द्रकै सवारी साधन प्रयोग गरि परिक्षा दिन बाध्य पार्ने र सो वापत प्रशिक्षण केन्द्रहरुले मनोमानी रुपमा शुल्क असुल्ने गरेको भन्ने उजुरी तथा गुनासो प्राप्त भएको सन्दर्भमा सवारी चालक सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि नेपालको कानूनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन र सो को कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको (सचिव स्तरीय) निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको ब्यहोरा अनुरोध छ ’ केन्द्रले पठाएको पत्रमा उल्लेख गरेको छ ।
यसअघि लुम्बिनी प्रदेशले आफ्ना मातहतका सम्पूर्ण यातायात कार्यालयलाई सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिंदा प्ररीक्षार्थीको स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
