arin enterprises

पाटनमा मल्लकालिन घोडाजात्रा सम्पन्न

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ८, बुधबार

अचेल घोडाजात्रा भन्ने वितिकै टुँडिखेलमा सेनाहरुको घोडाजात्रालाई मात्र लिने गरिन्छ । तर पाटनमा मल्लकालीन ऐतिहासिक घोडाजात्रा हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ ।

हो, काठमाडौंमा राणाकालीन सेनाको घोडेजात्रा हुने चैत्र औंशीकै दिनमा पाटनमा मल्लकालीन एक्लो घोडा दौडाउने ‘कांम्ह सल ब्वाकेगु जात्रा’ हुने गर्दछ ।

यसैक्रममा यस वर्षको जात्रा मंगलबार चैत्र ७ पाटनको मल्लकालिन घोडा जात्रा ‘कांम्ह सल ब्वाकेगु’ सम्पन्न भएको छ ।

पाटनमा चैत्र कृष्ण औंशीका दिनमा हुने घोडाजात्रालाई वल्खुको भिमसेन गुठी च्यःखलःका महर्जन समुदायले निरन्तरता दिँदै आएको छ ।

यसपटक गुठियार अष्टमान महर्जन घोडचढि बने ।

‘यसमा गुठीयार नै घोडचढी बन्ने गर्छन् । यदि कोहि घोडचढि बन्न इच्छा गरेमा हामी घोडा चढ्ने तालिम पठाउँछौ । धरैले इच्छा गरेमा वैठकमा गरेको निर्णय अनुसार घोडचढि चुन्छौं’ गुठियार अधिवक्ता अजुन महर्जनले समाचारडेस्कलाई जानकारी दिए ।

स्थानीय भाषामा यस जात्रालाई कांम्ह सल ब्वाकेगु जात्रा भनिन्छ । कांम्ह सलको अर्थ अन्धो घोडा र ब्वाकेगु भन्नाले कुदाउने, दौडाउने भन्ने हो ।

जात्रा सुरु गर्नु अघि घोडालाई टन्न मद्यपान गराउने र मात्तिएर अन्धो जस्तो घोडा दौडिने भन्न अर्थमा पनि यसलाई लिइएको छ ।

अर्का गुठियार पुरुषोत्तम महर्जन भने यस्तो भन्छन् ‘घोडालाई कुदाउँदा धेरै मान्छेले तान्ने, जिस्काउने गर्छ । यस्तो अवस्थामा घोडा डरले अन्धो जस्तै दौडने भएकोले यसलाई ‘कांम्ह सल ब्वाकेगु भनेको हो ।’

यसलाई कांम्ह नभइ काःम्ह सल ब्वाकेगु पनि भनिएको छ । रक्सीले मात्तिएको भन्नलाई स्थानीय नेपालभाषामा अयलाखं काःम्ह भनिन्छ ।

त्यसैले यो अन्धो घोडा दौडाउने नभई मात्तिएको अर्थात काःम्ह सल ब्वाकेगु भन्नुपर्नेमा अपभ्रम्स भई कांम्ह भन्न गएको भन्ने पनि स्थानीयको भनाई छ ।

यो दिन नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा ललितपुर मंगलबजारस्थित तलेजुको मूलचोकमा पु¥याइन्छ ।

त्यसपछि गुठियारहरुले घोडा चढ्न चुनेका व्यक्ति घोडा चढेपछि राजा सिद्धिनरसिंह मल्लको खड्गसहित मूलचोकबाट निस्कन्छ ।

मूलचोकबाट वल्खुमा गई घोडचढीले घोडा चढी सकेपछि घोडालाई सगुन दिई पूनः जात्रा सुरु हुन्छ ।वल्खुवाट घोडालाई गुठियारहरुसँगै भोलढोकाको भोलगणेशमा लगिन्छ ।

भोलगणेशस्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । भोल गणेशदेखि बालकुमारी मन्दिर र फेरी भोलगणेश गरि तिन पटक घोडा दौडाइन्छ ।

अन्त्यमा बालकुमारीमा घोडचढीलाई गुठी संस्थानका प्रमुख वा प्रतिनिधिले पान, सुपारी र दक्षिणा दिई बिदाबारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुने गर्दछ ।

Categorized in संस्कृति