arin enterprises

दुई दिन विदाः कति उत्पादक वा कत्तिको औचित्यहीन

SamacharDesk – राम डंगोल | २०७९ जेठ ७, शनिबार

अहिले नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आतइतबार दुई दिन सार्वजनिक विदा दिन थालेको छ । सरकारको यो निर्णय कति सान्दर्भिक र कति व्यववहारिक छ त ? यो प्रश्नले विशेष गरेर शिक्षा क्षेत्रमा सार्वजनिक बहस नै थालेको छ ।

सरकारी खर्चमा मितव्ययिता ल्याउने सोचकासाथ शुरु भएको दुई दिने छुट्टीका विषयमा आमनागरिकको मिश्रित प्रतिक्रिया रहेको छ ।

एकातर्फ शिक्षा क्षेत्रसँग जोडिएका बुद्धिजिविहरुले दुई दिने विदाको कारण शिक्षामा नकारात्मक असर पर्ने, विद्यार्थीहरुको पढाई बिग्रिने, फजुल खर्च बढ्ने, विद्यार्थीहरुलाई पढ्ने समय नै नपुग्ने, कोर्स पूरा पढाउन नसकिने जिकिर गर्दै आएका छन् ।

उनीहरुका अनुसार नेपालमा पठनपाठन गरिने विषयहरुको पाठ्यक्रम सिलेवस, ग्रिडलाई अध्ययन र अनुसन्धान गर्दा दिनको ६ घण्टा, महिनामा २२ दिन पढाई भएमा १३२ घण्टा मात्र पढाई हुने भयो । यो अनुसार विद्यार्थीहरुलाई क्लासमा मात्र पढ्ने समय पाउने भए ।

त्यसबाहेक विद्यार्थीहरुको लागि आफैँ पढ्न, थप शैक्षिक गतिविधिका लागि समय अपुग रहने जानकारहरु बताउँछन् । 

तर विश्वमा विदाको अभ्यास हेर्ने हो भने सकारात्मक नै देखिन्छ । अरु देशरुको विदाको प्रावधानलाई पनि अलिकति केलाई हेरौं !

शनिबार भरपुर मनोरन्जन गर्ने, आइतबार नुहाईधुवाई, चर्चमा प्रार्थना गर्न जाने, परिवारको साथमा घरमा समय विताउने गरेको देखिन्छ 

पश्चिमा देशहरुमा प्राय शनिबार र आइतबार विदा दिने गरिन्छ । यसको मुख्य उद्देश्य भनेको शनिबार भरपुर मनोरन्जन गर्ने, आइतबार नुहाईधुवाई, चर्चमा प्रार्थना गर्न जाने, परिवारको साथमा घरमा समय विताउने गरेको देखिन्छ ।

त्यसैगरी धेरैजसो मुस्लिम मुलुकहरुमा विहिवार र शुक्रबारलाई सप्ताहन्त मान्ने गरेको पाइन्छ । विहिबार रमाईलो, घुमघाम गर्ने र शुक्रबार नमाज पढ्ने गरिन्थ्यो । पछि वाह्य पर्यटनमार्फत् आर्थिक विकास हुने सम्भावनालाई मध्यनजर गर्दै पछि उनीहरुले शुक्रबार र शनिबार सप्ताहन्त मनाउन थाले ।

अझ नेपाल जस्तो पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएको देशमा यो दुई दिने विदाले आन्तरिक तथा वाह्य पर्यटनलाई पनि टेवा पुर्‍याउनुका साथै विकास गर्ने देखिन्छ ।

अहिले विश्वमा ११ वटामात्र देशमा एक दिन मात्र विदा दिने गरेको पाइन्छ । आइतबार मात्र दिने ७, शुक्रबार मात्र दिने ३ वटा देश र शनिबार मात्र दिने देश नेपाल ।

नेपालमा आन्तरिकको साथमा विशेष गरेर धार्मिक पर्यटनको प्रचुर संभावना रहेको छ ।

कल्पना गरी हेरौं न, परिवार वा साथीभाईसँग शनिवार पाथीभरा अथवा मुक्तीनाथ जाउँ न । त्यो दिन दर्शन गरौंला, घुमाघाम गर्दै बेलुकीको खाना पनि उतै खाएर उतै सुतौंला अनि आइतवार विहान उताकै स्वच्छ हावामा मर्निङ वाक गर्दै ब्रेकफास्ट पछि उताबाट फर्काैँला !

यो त घुमन्तेहरुको घुम्ने योजना भयो, व्यापारीहरु यसरी नै बाहिर गएर आफ्नो पेशा वा व्यवसाय सम्बन्धि नै व्यापार ब्यबसाय गर्छन् !

पैसा थुपारेर घर घडेरी थप्दै मात्र जाने प्रवृती देश बिकासको बाधक हो ! दुई दिन विदाले विद्यार्थीहरुको पढाई बिग्रन्छ भन्ने भ्रम हो !

अर्काेतर्फ युरोप र अमेरिकामा प्रायः सबै अफिस, संस्था, स्कुल र कलेज हप्तामा ५ दिन लाग्ने गर्दछ । स्कुलको कुरा गर्दा २ दिन विद्यार्थीहरू अभिभावकका समिप बस्दा उसले स्कुलबाट दिएका प्रोजेक्ट वर्कहरू अभिभावककै निर्देशनमा गर्छन्, सिक्छन् ।

किताब रटाएर पढाएका कुराहरूलाई स–साना पारिवारिक तथा विद्यालयीय भ्रमणको आयोजना गरेर फिल्डमै लगी सिकाउन सकियो भने देखेर, छोएर र आफैंले गरेर सिक्न सकिन्छ । यो कुरा शिक्षकका नेता र तिनका संघ संगठनले सोच्नुपर्ने हो ।

जेहोस्, नेपालले ईन्धनको खपत कम गर्नलाई दिएको दुई दिन विदाको निर्णयलाई सही रुपमा उत्पादनमुखी बनाउन सक्यो भने यसले राम्रो परिणाम आउन सक्छ ।

दुई दिन विदा गरेर बाँकी ५ दिनको कार्यावधिमा समयमै काम हुने, विना झन्झट सेवाग्राहीले आफुले चाहेको सेवा लिन पाएमा दुई दिन विदाको औचित्य हुन्छ । नत्र पुरानै पाराले सरकारी काम कहिले जाला घाम भनेरै काम हुने हो भने यसले राज्यलाई व्ययभार मात्र बढाउने, उत्पादनमा कमी आउने र राज्यको ढुकुटी मात्र रित्त्याउनेबाहेक अरु केही नहुने देखिन्छ ।

Categorized in विचार