संवैधानिक परिषद्को बैठक स्थगित गर्न प्रचण्डको आग्रह
SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष साथै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को वैठक स्थगित गर्न सरकारसँग आग्रह गरेका छन् ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न आग्रह गरेका हुन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले वैठक संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको भएको दावी गर्दै बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।
लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको दावी विज्ञप्तीमा गरिएको छ ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको आरोप प्रचण्डले लगाएका छन् ।
