७४औं प्रजातन्त्र दिवस मनाईंदै
SamacharDesk | २०८० फाल्गुण ७, सोमबार

आज फागुन–७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ ।
२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
१०४ वर्ष जहानिया राणा शासन अन्त्य गरी जनताको शासनका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भई रैती जनतामा रुपान्तरण भएको दिनका रुपमा स्मरण गरिन्छ ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनमा तत्कालीन राजा त्रिभुवनले पनि साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ ।
हरेक वर्ष भैंm यस वर्ष पनि दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहेको थियो ।
सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकीत व्यानर चक्रपथ वरपर प्रदर्शन गरी नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरियो ।
नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाईएको थियो भने तोप र बन्दुकको बढाईं पनि गरियो ।
यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८० मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थामा भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको बताउनुभएको छ ।
उहाँले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउनुहुँदै सबैमा शुभकामना समेत दिनुभयो । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उहाँले सम्बोधनका क्रममा बताउनुभयो ।
Categorized in राष्ट्रिय