arin enterprises

प्रजातन्त्र दिवस ३ दिनसम्म मनाइने

SamacharDesk | २०८० माघ २६, शुक्रबार

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रमका साथ भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयका छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गरिने भएको छ ।

यस्तै सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ ।

दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल बजाउने तथा तोप र बन्दुकको बढाईं गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस अङ्कीत व्यानर चक्रपथको वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षकर्मी सार्वजनिक तथा सामुदायिक संघ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।

Categorized in राष्ट्रिय