राष्ट्रपति विद्या भण्डारीले दोस्रो पटक पनि विधेयक प्रमाणिकरण गरेन
SamacharDesk – बिराज | २०७९ आश्विन ५, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नागरिकता विधेयक २०७९ दोस्रो पटक पनि प्रमाणिकरण नगर्नु भएको छ ।
यसअघि साउन १५ गते पहिलो पटक विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।
उक्त विधेयकमा भएका केही व्यवस्थामा पुनर्विचारका लागि भन्दै राष्ट्रपति भण्डारीले संसद्तर्फ फिर्ता गर्नुभएको थियो । राष्ट्रपतिबाट फिर्ता आएपछि दुवै सदनले विधेयक बहुमतका आधारमा जस्ताको तस्तै पारित गरेको थियो ।
संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गते मङ्गलबार राति १२ बजेभित्र विधेयक प्रमाणीकरण गर्नुपर्नेमा उक्त समय सकिँदासम्म प्रमाणीकरण नगर्नुभएको हो ।
नेपालको संविधानको धारा ११३ बमोजिम दोस्रो पटक संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।
सङ्घीय संसद्ले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दोस्रो पटक गत भदौ २० गते सोमबार पठाएको थियो ।
मङ्गलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पक्षसँग परामर्श गर्नुभएको थियो । साँझसम्म पनि राष्ट्रपति भण्डारीले कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो ।
कानुनविद्हरूले राष्ट्रपतिलाई प्रतिनिधि सभाको कार्यकाल असोज १ गते नै सकिएकाले नागरिकता विधेयक पनि स्वतः निष्क्रिय हुने सुझाव दिएका थिए ।
राष्ट्रपतिले त्यसैअनुसार विधेयक प्रमाणीकरण नगर्नुभएको संविधानविद्हरूको भनाइ छ ।
उता अन्तिम समयसम्म पनि राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण नभएपछि सत्ता गठबन्धनको बैठक बुधबार दिउँसो बसेको थियो । उनीहरुले बालुवाटारमा कानुनविद्सँग परामर्श गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानतः राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्नेमा राष्ट्रपतिले प्रमाणिकरण नगरेर राष्ट्रपतिबाट असंवैधानिक कार्य भएको कुरालाई सबैले मनन गर्नुपर्ने सबै कानुनविद्को निष्कर्ष रहेको बताउनु भयो ।
Categorized in राष्ट्रिय