प्रधानमन्त्रीद्वारा नेपालमा टिकटक खुलाउने संकेत
SamacharDesk | २०८० फाल्गुण ६, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिबन्ध खुलाउने संकेत दिएका हुन् ।
सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संसदमा पेश गर्न लागिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
‘टिकटकले सरकारलाई सामग्री नियमन, प्वाइन्ट अफ कन्ट्याक्ट (सम्पर्क कार्यालय) स्थापना, डेडिकेटेड रिपोर्टिङ सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरिरहेको छ,’ उनले भने ।
सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।
त्यस्तै गत आइतबार संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई टिकटकले एक पत्र पठाउँदै सरकारका सबै कानून पालना गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।
पत्रमा कम्पनीले नेपालका सम्पूर्ण कानूनी प्रक्रिया मान्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ । ‘टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरुको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई नियमन गर्न नसकिने चैं होइन’ प्रधानमन्त्री दाहालले भने ।
टिकटक पुनः संचालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरुले नेपाल आएर सम्बन्धित निकायहरुसँग छलफल पनि गरिरहेका उनको भनाई छ ।
Categorized in राष्ट्रिय