आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ९, मंगलबार

सप्तरीमा एउटा घरमा भएको आगलागिमा करीब २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुर बस्ने ५० वर्षीय हरि नारायण यादव र ३५ वर्षीय आनन्द कुमार यादवको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार घटनामा दुबै जनाको घर पूर्णरूपमा जलेर करिब २२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अनुसन्धानको क्रममा करेन्ट सर्ट आगलागी भएको देखिएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी सप्तरी, छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरमै अर्को तीन जनाको घरमा पनि आगलागी भएको छ ।
६६ वर्षीय ब्रजेश्वर मण्डल, ५५ वर्षीय बिजुली मण्डल र ५५ वर्षीय धनिकलाल मण्डल समेत तीन जनाको घरमा गएराति आगलागी भएको थियो । आगलागीमा तीनै जनाको घर पूर्णरूपमा जलेर करिब २३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।
सिरहा र मोरङमा पनि आगलागी
गए राति नै सिरहामा पनि एउटा किराना पसलमा आगलागी भएको छ । सिरहाको नरहा गाउँपालिका–२ पानवारी चोकस्थित किराना, चोकर, मलखाद र जुत्ता चप्पलको पसलमा आगलागी भएको थियो ।
सोही गाउँपालिका–५ बस्ने ५० वर्षीय सतो यादवको उक्त पसलमा करेन्ट सर्ट भई राति आगलागी भएको बताइएको छ । आगलागीमा करिब ८५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका–४ जरायो टोलमा पनि एउटा घरमा आगलागी भएको छ । धन बहादुर रसायलीको घरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेको छ ।
घटनामा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज