arin enterprises

लामिछानेको आजदेखि थुनछेक बहस हुने

SamacharDesk | २०८१ पौष ८, सोमबार

सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजदेखि थुनछेक बहस हुने भएको छ ।

हिजो लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र एकिकृत कसुर गरि चारवटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आज मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

हाल लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।

लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Categorized in राष्ट्रिय