arin enterprises

नित्या रञ्जना युनिकोड विश्वभर निःशुल्क उपलब्ध

SamacharDesk – समाचारडेस्क | २०८० चैत्र ३, शनिबार

नेपाल भाषाको नित्या रञ्जना युनिकोड फन्ट आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् । क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी इके टाइपको सहकार्यमा रञ्जना युनिकोड फन्ट विकास गरिएको हो ।

सो अवसरमा महानगर उपप्रमुख डंगोलले रञ्जना लिपी जस्तै अन्य पुराना लिपीहरुको पनि संरक्षण गर्न आवश्यक रहेको बताइन् । उनले पुराना लिपीहरु लोप हुँदै गएको भन्दै त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भुमिका रहने बताइन् ।

उहाँले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताउनुभयो । नित्या रञ्जना युनिकोड फन्ट विश्वभर निःशुल्क रुपमा प्रयोग गर्न मिल्ने फाउण्डेशनले जनाएको छ ।

सो लिपि देवनागरी युनिकोडका साथै नेवाः युनिकोडमा पनि उपलब्ध हुनेछ । यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट रहेको बताइएको छ ।

यस रञ्जना लिपीबाट सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने क्यालिजात्रा फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अध्यक्ष आनन्द कुमार महर्जनले हिजोको दिनमा उपयुक्त डिजिटल लिपीको उपलब्धता नभएको अवस्थामा लिपीको प्रयोग बढे पनि प्रयोग गरिएका ठाउँमा गलत स्क्रिप्ट लेखन भइरहेको थियो ।

यसकारण यसलाई सुधारेर आकर्षक फन्टमा विश्वभर प्रयोग गर्न मल्‍नेगरी लिएर आएको बताए ।  यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरूभन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको उनको भनाइ छ ।

कार्यक्रममा रञ्जना लिपीबारे स्वर वर्ण, व्‍यञ्जन वर्ण र अंकहरू कसरी लेख्‍ने भनेर रञ्जना लिपीमा टाइप गरेर देखाइएको थियो ।

साथै आर्ट काउन्सिलमा रञ्जना फन्टमा लेखिएका अक्षरको प्रदर्शनीसमेत गरिएको छ ।

Categorized in राष्ट्रिय