arin enterprises

राष्ट्रियसभा अध्यक्षमा दुई जनाको उम्मेदवारी

SamacharDesk | २०८० फाल्गुण २८, सोमबार

भोलि हुने राष्ट्रियसभा अध्यक्ष चुनावका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता हुनेहरुमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

उम्मेदवारी दर्तापछि छोटो प्रतिक्रिया दिंदै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ । उहाँले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताउनुभयो ।

उहाँले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरूभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताउनुभयो ।

त्यस्तै सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।

उहाँले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गर्नुहुँदै कानुन अनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताउनुभयो ।

यही फागुन २० गते तत्कालिन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएपछि अध्यक्ष पद रिक्त भएको थियो । राष्ट्रियसभा अध्यक्षको मतदान भोलि मंगलबार हुँदैछ ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरीएको थियो । आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरीने छ । 

Categorized in राजनीति