arin enterprises

रातो मछिन्द्रनाथको रथ जावलाखेल पुग्यो, आइतबार भोटोजात्रा

SamacharDesk – राम डंगोल | २०८१ श्रावण १७, बिहिबार

वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइएको छ ।

जात्रामा ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पुर्याइएको छ ।

सातगाउँमा सतुंगल, नैकाप, मत्स्यगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । सो सातगाउँको परम्परागत बाजा, झाँकि सहित रातो मछिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइएको छ ।

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरी जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो ।

रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

नेपालको सबैभन्दा लामो जात्राको रुपमा मानिने यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।

मछिन्द्रनाथको भोटो देखाएपछि सो वर्षको जात्रा विधिवत रुपमा समापन हुन्छ र भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथ मूर्तिलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ ।

छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ ।

आज जावलाखेल पुर्याएपछि यो वर्षको भोटो जात्रा आइतबार मनाइने जनाइएको छ ।

किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरू गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजा समेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको मानिन्छ।

Categorized in संस्कृति