ब्रम्हटोलको ऐतिहासिक श्वेत भैरब फल्चाको पुनर्निर्माण सम्पन्न
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १७, शनिबार

काठमाडौंको ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनर्निर्माण सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनर्निर्माण गरिएको बागमती प्रदेशका सांसद डा. अजय क्रान्ति शाक्यले जानकारी दिनुभयो ।
शाक्य काठमाडौं निर्वाचन क्षेत्र नं ९ (क) बाट निर्वाचित सांसद हुनुहुन्छ ।
‘आफ्नो निर्वाचन क्षेत्रमा रहेका, ऐतिहासिक, साँस्कृतिक र पुरात्वतिक महत्वका सम्पदाहरूको संरक्षण गर्ने अभियान अन्र्तरगत यहाँ फल्चा पुनर्निर्माण गरेको हो,’ शाक्यले भन्नुभयो, ‘पुरात्वात्तिव सम्पदाले भरिपूर्ण काठमाडौँका कला, संस्कृति, मुर्त–अमूर्त सम्पदाको संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर अघि बढ्नुपर्छ ।’
प्रत्येक वर्ष दशैंको पञ्चमीको दिन हुने पचिमहः (पचली भैरव जात्रा) र १२ वर्षको पचली भैरव जात्राका कारण यो स्थानको विशेष महत्व रहेको कामपा–१२ वडाका अध्यक्ष विकास डंगोलले जानकारी दिनुभयो ।
साथै खड्गसिद्धि जात्राको नामबाट प्रख्यात पचली भैरवको १२ वर्षेका जात्राका लािग पनि यो स्थान प्रख्यात रहेको छ ।
काठमाडौँ क्षेत्र नम्बर– ९ (क) मा वडा– १२, १४, २१ र २२ पर्दछन् ।
ती वडाका पनि विभिन्न स्थानमा स्थानीय र संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विकास, सम्पदा पुर्ननिर्माण, सहरी सौदर्यीकरण जस्ता कार्यहरु गर्दै आएको सांसद शाक्यले बताउनुभयो ।
संघीय सांसद कृष्णगोपाल श्रेष्ठ र उहाँको संयुक्त पहलमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर–१४ मा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगर्त बासुकी दह बल्खुखोला पार्क निर्माण कार्य दू्रतगतिमा अघि बढेको छ ।
त्यसैगरी उहाँकै पहलमा संघीय, स्थानीय र प्रदेश सरकारको समन्वयमा वडा–२२ को न्युरोडदेखि जुद्ध शालिक हुँदै इन्द्रचोक र भूगोलपार्क आसपाससम्म सौदर्यीकरण कार्यलगायत दुई दर्जन बढी कार्यक्रम अघि बढेका छन् ।
Categorized in समाज